बुकिङ अनुसार गाडी आयात, भन्सारको अनधिकृत लाभ लिएका छैनौं – साइमेक्स इन्क

काठमाडौं । मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएर छुटेका गाडीहरुलाई बाटोमा सशस्त्र प्रहरीले रोकेपछि भन्सारको सम्पूर्ण कानूनी प्रकृया पूरा गरेर आफूहरुले गाडी आयात गरेको साइमेक्स इन्कले बताएको छ । आफ्ना ग्राहकले गाडी बुकिङ गरेका आधारमा उनीहरुलाई आपूर्ति गर्ने उद्देश्यले नियमित रुपमा आफूले गाडी आयात गरिरहेको बीवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्सले जनाएको हो । साइमेक्स इन्कले नेपालको माग तथा निर्माता कम्पनीले गरेको आपूर्तिका आधारमा आयात गरिरहेको र २३ वैशाखदेखि १२ जेठसम्ममा रसुवागढी र कोरोला नाकाबाट ११ सय २१ गाडी भन्सार जाँचपास भएर नेपाल भित्रेको जनाएको हो । त्यसका अतिरिक्त थप २२६ गाडीहरु चीनतर्फको भन्सार क्षेत्रमा आइपुगे पनि जाँचपास नभएको साइमेक्सले जनाएको छ । बजेटमा कर बढ्ने सूचना चुहिएपछि गाडी आयात गरेको भन्ने आरोपको खण्डन गर्दै कम्पनीले बजेट आउनुभन्दा अगाडिको करिब एक महिनामा कुन दिन कति गाडीको भन्सार जाँचपास भयो भन्ने तथ्यांक समेत दिएको छ । १२ जेठपछि बीवाईडी गाडीको भन्सार जाँचपास नभएको पनि कम्पनीले जनाएको छ । तर बजेटमा करका दरहरुबारे अन्तिम दिन निर्णय हुने गर्छ । ‘हाल विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएका हुन्,’ साइमेक्स इन्कले विज्ञप्ति जारी गर्दै भनेको छ । साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको र त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध नगरेको वा प्राप्त पनि नगरेको उल्लेख गरेको छ । ‘ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पुरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारी साधन आयात गरिएका हुन्। यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना, तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर सम्पन्न गरिएका हुन्,’ साइमेक्स इन्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यी सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया नेपालका प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार नै सम्पन्न गरिएको कम्पनीको भनाइ छ ।

साइमेक्स इंकले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने खालको भएको उसले जनाएको छ । ‘हाम्रा आयातसम्बन्धी सम्पूर्ण गतिविधिहरू नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा प्रचलित कानुनका आधारमा योजना बनाई सञ्चालन गरिन्छन्,’ बीवाईडीले भनेको छ । यस विषयमा कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई आफूले स्वागत गर्ने पनि उसले जनाएको छ । ‘सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजातहरू— आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेजहरू—सम्बन्धित निकायलाई उपलब्ध गराउन पूर्ण रूपमा तयार छौं,’ बीवाईडीले जनाएको छ । साइमेक्स इंकले विगत धेरै वर्षदेखि नेपालको अटोमोटिभ क्षेत्रलाई स्वच्छ ऊर्जातर्फ रूपान्तरण गर्न कम्पनीले विश्वासिलो साझेदारका रूपमा योगदान दिँदै आएको पनि जनाएको छ । कम्पनी इमान्दारिता, कानुनको पालना, पारदर्शिता तथा जवाफदेहिताका साथ नेपाली उपभोक्ताको सेवा गर्न निरन्तर प्रतिबद्ध रहेको पनि जनाएको छ। सम्बन्धित निकायहरूद्वारा भइरहेको अध्ययन तथा समीक्षा प्रक्रियाले यस विषयमा स्पष्टता ल्याउने पनि बीवाईडीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *