नेपाल–भारतबीच डिजिटल भुक्तानी विस्तारका लागि कूटनीतिक पहल आवश्यक

काठमाण्डौं । नेपालमा डिजिटल कर्जा प्रवाह क्रमशः विस्तार हुँदै गएको माछापुच्छ्रे बैंकका सन्तोष कोइरालाले बताएका छन्। सेतोपाटीले आयोजना गरेको नेपाल फिनटेक कनक्लेभ २०२६ मा बोल्दै उनले हालसम्म डिजिटल माध्यमबाट करिब १६ अर्ब रूपैयाँ बराबरको कर्जा प्रवाह भइसकेको र करिब २.५ अर्ब रूपैयाँ बराबरको भोल्युममा कारोबार भएको जानकारी दिए। यसबाट करिब ६२ हजार व्यक्ति तथा मर्चेन्ट लाभान्वित भएको उनले बताए। कोइरालाका अनुसार बिना धितो साना कर्जालाई सुरक्षित बनाउन निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत बीमा प्रणाली लागु गर्नुपर्ने सुझाव बढ्दो रूपमा आएको छ। कर्जा सुरक्षित भए बैंकहरू पनि साना कर्जा प्रवाह गर्न थप उत्साहित हुने उनको भनाइ थियो। उनले डिजिटल कर्जा क्षेत्रमा दोहोरो कर्जा लिने प्रवृत्ति बढ्दै गएको र यसले तिर्न नसक्ने अवस्था अर्थात् अत्यधिक ऋणभारको जोखिम सिर्जना गरेको बताए। माइक्रोफाइनान्स क्षेत्रमा जस्तै एउटै व्यक्तिले धेरै संस्थाबाट कर्जा लिने समस्या डिजिटल क्षेत्रमा पनि देखिन थालेको उनले उल्लेख गरे।

कोइरालाले सबै बैंक, वित्तीय संस्था र सहकारीका कर्जा विवरण हेर्न मिल्ने एकीकृत प्रणाली आवश्यक रहेको बताए। उनका अनुसार करिब ३२ हजार वित्तीय संस्थाबीचको डेटा एकीकृत गर्न सकिने ‘खाता एकीकृतकर्ता’ प्रणाली प्रभावकारी समाधान हुन सक्छ। उनले डिजिटल भुक्तानी प्रणालीमा विभिन्न वालेट तथा सेवा प्रदायकबीच पूर्ण अन्तरआवद्धता अझै स्थापित हुन नसकेको भन्दै यसलाई डिजिटल इकोसिस्टम सुदृढीकरणका लागि आवश्यक रहेको बताए। नेपाल–भारतबीच डिजिटल भुक्तानी विस्तारका लागि केही प्रगति भए पनि यसलाई पूर्ण रूपमा सहज बनाउन थप कूटनीतिक तथा नीतिगत पहल आवश्यक रहेको उनको भनाइ थियो। कोइरालाले बैंकहरूले कृषि तथा पशुपालनदेखि सूचना प्रविधि क्षेत्रसम्म डिजिटल कर्जा प्रवाहलाई विस्तार गर्दै लगेको उल्लेख गरे। उनका अनुसार डिजिटल कर्जा प्रणालीले वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *