आईएमई लाइफको इश्युअर रेटिङमा उल्लेखनीय सुधार
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इश्युअर रेटिङमा उल्लेखनीय सुधार हासिल गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको मूल्याङ्कन ‘केयर एनपी बीबीबी पल्स’ बाट स्तरोन्नति गर्दै ‘केयर एनपी ए माइनस’ प्रदान गरेको हो । कम्पनीका अनुसार उक्त स्तरोन्नति सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन तथा सुशासनप्रतिको प्रतिबद्धताको प्रतिफल हो । साथै बीमित तथा सरोकारवालाबीच कायम विश्वासले पनि यस उपलब्धिमा योगदान पुर्याएको जनाइएको छ । ‘केयर एनपी ए माइनस’ रेटिङले कम्पनीसँग आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्दछ । अघिल्लो मूल्याङ्कनको तुलनामा कम्पनी अझ मजबुत र विश्वसनीय संस्थाका रूपमा स्थापित भएको पनि रेटिङले देखाएको छ । कम्पनी व्यवस्थापनले उक्त उपलब्धिलाई सरोकारवालाको विश्वास, सहयोग र प्रतिबद्धताको परिणाम भएको बताउँदै आगामी दिनमा ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन र दीर्घकालीन वित्तीय स्थायित्वलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।
‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल नारासहित सञ्चालनमा रहेको आईएमई लाइफ इन्स्योरेन्सले जीवन बीमामार्फत व्यक्तिहरू र परिवारहरूको आर्थिक सुरक्षा तथा भविष्य सुनिश्चित गर्ने उद्देश्य राख्दै विभिन्न बीमा योजनाहरू उपलब्ध गराउँदै आएको छ । देशव्यापी शाखा सञ्जाल, उपशाखा र हजारौं अभिकर्तामार्फत सेवा विस्तार गर्दै आएको कम्पनीले जीवन बीमाको पहुँच समुदायस्तरसम्म पुर्याएको जनाएको छ । यसका साथै कम्पनीले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । कम्पनीले ‘केयर एनपी ए माइनस’ रेटिङलाई केवल उपलब्धि मात्र नभई अझ उत्कृष्ट सेवा र उच्च व्यावसायिक मापदण्डतर्फ अघि बढ्ने प्रेरणाका रूपमा लिएको जनाएको छ ।
















