प्रधानमन्त्री नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्नु लाग्नुभयो : सचेतक राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागेको टिप्पणी गरेका छन् । ‘सम्मानीय प्रधानमन्त्रीज्यू नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नुभएको छ । सामाजिक सञ्जालमा उहाँको शुभचिन्तकहरुले पनि नभएका प्रमाणहरु सिर्जना गर्दै ‘नेपाललाई सीमा अतिक्रमणकारी देश’ भनेर प्रमाणित गर्न लागि परेका छन् । यो तहको राष्ट्रघात गर्न उहाँहरुलाई किन मन लागेको हो ? राष्ट्रको बेइज्जत गर्दा आनन्द र खुसी हुने कस्तो मानसिकता निर्माण गर्दै छौं हामी ? कस्तो समाजको परिकल्पना गरिरहेका छौं ?’ उनले सोधे । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

‘हामी प्रतिपक्षी दलहरुले विगत केही बैठक देखि यस सम्मानित सदनमा ठूलो आवाजमा ‘नेपाल सीमा अतिक्रमणकारी देश होइन’ भनेर प्रमाणित गर्न खोजिरहेका छौं । प्रधानमन्त्रीज्यूले यस सम्मानित सदनमा स्वयम् आफै उपस्थित भएर आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्दै माफि माग्नुपर्छ भनेर माग गरिरहेका छौं,’ उनले थप भने, ‘हामीलाई लागेको थियो( राष्ट्रको अस्मितामाथी धावा बोल्दा सदनको अभिभावकको हैसियतमा सभामुख महोदयले अभिव्यक्ति हटाउन निर्देशन दिनुहुनेछ । तर‚ त्यसो हुन सकेन । त्यसैले आज पनि हामी सभामुख महोदयको साथ चाहान्छौं‚ अभिभावकत्व चाहान्छौं । तपाईंको सालिनतालाई उच्च कदर पनि गर्दछु । रोस्ट्रममा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जवाफ दिने र उहाँले राष्ट्रिय हितविपरित बोलेका कुरामा उहाँबाट आत्मालोचना होस् । खुट्टा नकमाइ सभामुख महोदय हामी रुलिङ चाहान्छौं ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *