रास्वपाका मूल राजनीतिक सिद्धान्त– सामाजिक लोकतन्त्र, सफल बनाउन पाँच मूल आधारस्तम्भ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘सामाजिक लोकतन्त्र’लाई आफ्नो मूल राजनीतिक सिद्धान्त बनाएको छ । रास्वपा सभापति रवि लामिछानेले चितवनको भरतपुरमा चलिरहेको पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै सामाजिक लोकतन्त्र पार्टीको मूल राजनीतिक सिद्धान्त भएको बताएका हुन् । “महाधिवेशन उप्रान्त राष्ट्रिय स्वतन्त्र पार्टीको मूल राजनीतिक सिद्धान्त सामाजिक लोकतन्त्र हुनेछ । पार्टीका सम्पूर्ण दस्ताबेजहरूमा यस मूल राजनीतिक सिद्धान्तलाई समावेश गरिने कुरा म प्रतिनिधि मित्रहरूलाई जानकारी गराउँछु,” लामिछानेले भनेका छन् । उनले आफ्नो प्रतिवेदनमा रास्वपा परम्परागत बामपन्थी वा दक्षिणपन्थी नभएको स्पष्ट पारेका छन् ।
“हामी राज्य, समाज र अर्थतन्त्रलाई कुनै एकल वैचारिक ढाँचाबाट होइन, मिश्रित, सन्तुलित र परिस्थिति अनुकूल दृष्टिकोणबाट अघि बढाउनुपर्छ भन्ने मान्यता राख्छौँ,” प्रतिवेदनमा भनिएको छ । रास्वपाले स्थापनाको घोषणा गर्दा संवैधानिक समाजवादलाई पार्टीको सिद्धान्त बनाउने निधो गरेको थियो । अहिले यसलाई परिवर्तन गर्दै सामाजिक लोकतन्त्र बनाएको हो । सामाजिक लोकतन्त्रका पाँच मूल आधारस्तम्भ रहेको लामिछानेले बताएका छन् । ती पाँच आधारस्तम्भमा प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र, विधिको शासन, जनउत्तरदायी सरकार, लोककल्याणकारी राज्य र समन्यायिक समावेशी समाज रहेका छन् ।
















