वित्तीय अपराध रोक्न बैंकहरू २४सै घण्टा ‘अलर्ट’मा
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अपराध र ठगी नियन्त्रण गर्न बैंकहरूलाई थप उत्तरदायी बनाएको छ । केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै वित्तीय अपराध रोक्न बैंकहरू अब २४ सै घण्टा ‘अलर्ट’मा बस्नुपर्ने व्यवस्था ल्याएको हो । अबदेखि कुनै पनि संदिग्ध बैंक खाता रोक्का राख्न अनुसन्धान अधिकारी वा कानुनी निकायले अनुरोध गरेमा बैंकहरूले २४ सै घण्टा कार्य सम्पादन गर्नुपर्ने भएको छ ।
“वित्तीय अपराध न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिकरलिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि रोक्का राख्न २४।७ कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ,” संशोधित एकिकृत निर्देशनमा उल्लेख छ । उक्त कार्यलाई प्रभावकारी बनाउन बैंकहरूले आ–आफ्नो वेबसाइटमा अनिवार्य रूपमा एक सम्पर्क नम्बर सार्वजनिक गर्न निर्देशन दिएको छ । साथै, कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थासँग विवरण माग गरेमा सोझै यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
















