सीजी फ्यूचरले १० महिनामै गर्‍यो ४ अर्बको कारोबार

काठमाडौं । हिरो ब्रान्डको दुई पांग्रे सवारी साधन एसेम्बल गर्ने सीजी फ्यूचर फ्याक्ट्री प्रालिले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ४ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीले चालु आवको १० महिनाको अवधिमा ४ अर्ब १० करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो । सन् २०२३ मा स्थापना भएको कम्पनीले हिरो ब्रान्डको बाइक तथा स्कुटर एसेम्बल प्लान्ट निर्माण गरी सन् २०२४ देखि व्यवसायिक कारोबार सुरू गरेको थियो । नवलपरासीको सीजी इन्डष्ट्रियल पार्कमा रहेको प्लान्टले सवारी साधनको पार्टपूर्जाहरु आयात गरी एसेम्बल गर्दै आएको छ । एसेम्बल गरिएको बाइक तथा स्कुटर सहायक कम्पनी सीजी मोटर्स प्रालिलाई मात्रै बिक्री गर्दै आएको छ । सारिका चौधरीको ६० प्रतिशत र निर्वाण चौधरीको ४० प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ५५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको चालु आवको १० महिनाको अवधिसम्ममा कार्यशील पूँजी ५१ प्रतिशत उच्च स्तरमा रहेको छ । कम्पनी कार्यशील पूँजी आवश्यकताको वित्तीय व्यवस्थापनाका लागि बैंक ऋणमा अत्यधिक निर्भर रहेको छ ।

जसले गर्दा कम्पनीको पुँजी संरचना दबाबमा रहेको छ । कम्पनीको चालु आवको १० महिनासम्ममा गियरिङ अनुपात ३.३ गुणा रहेको छ । कम्पनीको तरलता अभाव अझै पनि सीमित रहेको छ । तरलता स्थितिमा आएको दबाबका कारण कम्पनीले ऋणको साँवा तथा ब्याज भुक्तानीमा कहिलेकाँही ढिलाइ हुने गरेको छ । यस्ता ढिलाइहरू ३० दिनभित्रै सीमित रहेका छन् । कम्पनीको कुल ऋण,ट्यान्जिबल नेट वर्थ चालु आवको १० महिनाको अवधिमा ३.३ गुणा रहेको छ । कम्पनीको कुल ऋण,सञ्चालन नाफा मार्जिन ४.६ गुणा रहेको छ । गत आवमा ६।१ गुणा थियो । कम्पनीको ब्याज कवरेज सुधार भई चालु आवको १० महिनाको अवधिमा ४.२ गुणा पुगेको छ । गत आवमा १.६ गुणा थियो । त्यसैगरी, कम्पनीको ऋण सेवा कवरेज अनुपात ३.६ गुणा रहेको छ । गत आवमा १.५ गुणा थियो । कम्पनीले आफ्‌नो सञ्चालन प्रदर्शनलाई कायम राख्न वा सुधार गर्न, वित्तीय सूचकहरूलाई थप सुदृढ बनाउन तथा तरलता अवस्थालाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न सक्ने क्षमता नै प्रमुख निगरानीयोग्य पक्ष रहने इक्रा नेपालले उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *