सरकारसँगै रास्वपा फासीवादउन्मुख भएको हो ? : सांसद बिष्ट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले सरकारसँगै रास्वपा पनि फासीवादउन्मुख भएको हो ? भनेर प्रश्न गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा उनले सरकारले नै देशलाई संकटमा धकेल्दा सत्तारूढ पार्टी त्यसमै मिसिएको जस्तो देखिएको टिप्पणी गरे । सरकार एक्लै फासीवादतर्फ गइरहेको छैन, रास्वपा पनि फासीवादतर्फ उन्मुख भएको संकेत हुँदै छ,” उनले भने, “देशलाई संकटमा पार्दै छ । आज कूटनीतिक रूपमा पनि असफल हुँदै गइराखेको छ । सबैले थाहा पाइहाल्नुभयो, जर्मनीले नेपालको राजदूतलाई बोलाएर एमआरपीमा कठोरतापूर्वक प्रतिक्रिया दिएको छ । उनले नागरिक महँगीको मारमा परेको, मल अभावमा किसान र पुस्तक नपाएर विद्यार्थी तड्पिरहेका बताए । प्रधानमन्त्री वालेन्द्र साह भने यस्ता आधारभूत विषय छाडेर संवैधानिक अंगलाई प्रभावमा पारेर स्वार्थसिद्धिमा लागेका उनले आरोप लगाए । “यस्तो बेला प्रधानमन्त्री हिटलरको ग्यास चेम्बरझैँ अख्तियारलाई बोलाएर बयान लिन्छ, मानव अधिकार आयोगलाई डाकेर धम्की दिन्छ । रक्षामन्त्रीलाई भेट्न प्रधानसेनापति आउँछ, तीन घण्टा कुराउँछ र फर्किएर जान्छ,” उनले भने, “अनि, प्रधानमन्त्री देश बनाउन लागिरहेको सन्देश आउँछ, देश कहाँ बन्दै छ ? न सञ्चारकर्मीलाई थाहा छ न उनकै पार्टीका माननीयलाई थाहा छ ।”

उनले हजारौँका बलिदानपश्चात् बनाइएको संविधान असफल पार्ने र प्रदेश खारेजीको घोषणा गरेर देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्र गरिएको पनि बताए । यसबाहेक सबै क्षेत्रमा समस्या सिर्जना गरेर प्रधानमन्त्रीले नै देशलाई असफल पार्ने चिन्ता बढेको उनको भनाइ थियो । “नेपालीहरूले सचेत हुनुपर्ने बेला आएको छ । यो देशलाई अस्थिरतामा धकेलेर, अराजकता निम्त्याएर असफल राष्ट्र बनाउने षड्यन्त्र गरिरहेको छ । यसको म घोर निन्दा गर्दछु,” उनले भने । सांसद बिष्टले विश्वविद्यालयका पदाधिकारी हटाएर अस्तव्यस्त बनाइएको भन्दै उपकुलपति नियुक्तिमा पैसाको ‘बार्गेनिङ’ भइरहेको आरोप पनि लगाए । आज विश्वविद्यालय भीसी (उपकुलपति उमेदवार)हरूको अन्तर्वार्ता लिइँदै छ । कसले कति बुझाउँछ भनेर प्रधानमन्त्री र शिक्षामन्त्रीका अलग–अलग मान्छेले बार्गेनिङ गरिराखेका छन्,” बिष्टले प्रश्न गरे, “यही हो सुशासन ?”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *