अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा
काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकालाई ४-१ ले पराजित गर्दै बेल्जियमले क्वाटरफाइनल भिडन्त सुनिश्चित गरेको हो । बेल्जियमको जितमा चार्ल्स केट्लरले दुई गोल गरे । उनले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक टिलिमेनले ३१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । खेलको ३३ औँ मिनेटमा बेल्जियमका चार्ल्सले अर्को गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा बेल्जियमका ह्यान्स भेनकेनले गोल गर्दै नतिजा ३-१ मा पुर्याए । दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले गोल गरेसँगै बेल्जियम ४-१ ले विजयी भयो । विश्वकपमा अमेरिकाको पराजयसँगै तीनवटै आयोजक राष्ट्र बाहिरिएका छन् । यसअघि क्यानडा र मेक्सिको बाहिरिएका हुन् । क्वाटरफाइनलमा बेल्जियमले अब स्पेनको सामना गर्नेछ । स्पेन पोर्चुगललाई हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो ।
















