अहिले गहिरिँदै गएको सङ्कट हटाउन, बिपी बिचार मन्त्र बन्छ

काठमाडौँ । पछिल्लो कालखण्डमा शासकहरूकै कारण मुलुक अस्तित्वको सङ्कटमा परेको छ । विदेशी शक्तिको खेल मैदान बनेको नेपाललाई जोगाउने उपाय भनेको राष्ट्रिय शक्ति बिचको सुदृढ एकता नै हो । त्यसको मार्गदर्शक बन्न सक्छ बिपी बिचार । नेपाली राजनीतिका सदाबहार मार्ग निर्देशक बिपी कोइरालाको राष्ट्रिय मेलमिलापलाई आधार मानेर लोकतान्त्रिक र देशभक्त शक्ति बिच एकता सहकार्य मेलमिलापबाट मात्र मुलुकलाई यो सङ्कटबाट मुक्त गर्न सकिन्छ । यसअघि नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तामाथि निकट छिमेकीबाट मात्र खतरा रहेको ठानिन्थ्यो, तर अहिले हजारौँ माइल टाढाको शक्ति नेपालको अस्तित्वको बैरी भएर आएको छ । यता केही वर्षदेखी नेपालमा अराजकता, हिंसाहस्त र आतङ्कमा तिनै परिचक्रीको हात देखिएको छ । राष्ट्रिय शक्तिलाई बदनाम गराउने, तिनका नेतालाई गलत मार्गमा हिँडाउन खोज्ने र अराजनीतिक तत्त्वलाई उचालेर मुलुकको संविधान, ऐनकानून र नियमलाई कुल्चिएर जथाभाबी गर्न उक्साउने काम भइरहेको छ । हाम्रा निकट छिमेकीहरूप्रति नकारात्मक प्रचार गराउने र यो भूमिलाई प्रयोग गरेर परिचक्रीको स्वार्थ सिद्ध गराउने काममा प्रचण्ड बहुमतको सरकार लागी परेको प्रस्ट देखिन थालेको छ । नेपाललाई लोकतन्त्र, विकास र समृद्धिको बाटोबाट अघि नबढाई यसको रक्षा सम्भव छैन । त्यसको लागी संविधान, ऐन कानुन, नियम र परम्परा मात्र पनि पर्याप्त छैन । संविधानकै परिधिभित्र रहेर नेपाललाई सही मार्गमा हिँडाउन राष्ट्रिय शक्तिहरूबिच विश्वसनीय र भरपर्दो एकता अपरिहार्य सर्त हो । र, त्यो सर्त पुरा गर्न बिपी बिचार सबभन्दा उत्तम उपाय हो । कठिन परिस्थितिमा देशको अस्तित्व रक्षाका लागी सहज रूपमा अघि बढ्न बिपीको राष्ट्रिय मेलमिलाप नै उत्तम विकल्प हुन्छ । राष्ट्रलाई सङ्कटबाट बचाउन राष्ट्रिय शक्तिहरूले आफ्ना निहित स्वार्थ र सानातिना कुरालाई त्यागेर एक हुनुपर्छ । पञ्चायत विरुद्ध प्रजातन्त्रका लागि जीवन मरणको सङ्घर्ष गरिरहेका बिपीले सिक्किम भारतमा विलय भएपछि राजासँग नि सर्त सहकार्य गर्न किन तयार भए रु त्यसको मर्म खोतल्न तिर लाग्नु पर्छ । हिजो बिपी स्मृति दिवस पनि थियो । यो सप्ताह बिपी स्मृति दिवसकै रूपमा मनाइन्छ । यही सप्ताहमा बिपीलाई सम्झनेहरूले उनको बिचार र योगदानको स्मरण गर्दछन् । तर विगत केही दशक देखी नेपाल अस्तित्वको सङ्कटमा फसेको छ । बिपीलाई जीवनको उत्तरार्धकलामा राष्ट्रको चिन्ता सबभन्दा बढी सताएको थियो । हुन त जन्मजात प्रजातन्त्रवादी उनले प्रजातन्त्र छाडेर राष्ट्रलाई बचाउन सकिन्छ भनेर कहिल्यै सोचेनन् । त्यही भएर उनले राष्ट्रियताका लागि राजासँग सहकार्य र प्रजातन्त्रका लागी सङ्घर्ष भन्ने अवधारणा अघि सारे । अहिले प्रजातन्त्रको आन्दोलनको नेतृत्व गरेको नेपाली काँग्रेस, जुन स्थापना गर्न, त्यसको सङ्गठन र बिचारले लेश गर्न बिपीले आफ्नो सारा जीवन लगाए, आज त्यही गम्भीर सङ्कटमा फसेको छ । काँग्रेस आज बिपी बिचारबाट भड्किएको छ । उसले लोकतन्त्र र देशभक्तिको असली अर्थ पनि छुटाउने सामर्थ्य गुमाउँदै छ । सत्ता स्वार्थ र आर्थिक लालचको दलदलमा सारा देश डुबेको बेला काँग्रेस मात्रै अपवाद हुन सक्दैनथ्यो ।

काङ्ग्रेसभित्र अहिले बिचारको बहस, देश र जनताको हितलाई सर्वोपरि राखेर काम गर्ने इच्छाशक्ति नै जीवित नरहेको हो कि भन्ने आशङ्का पैदा भएको छ । जे भए पनि अहिले बौद्धिक विलास गरेर रमाउने समय छैन । सरकार र सत्तारुढ दलकै कारण मुलुकलाई गृहयुद्धमा फसाउने, विदेशी शक्तिको खेलमैदान बनाउने र नेपालको अस्तित्व नै मेटाउने षडयन्त्र भइरहेको बेला बिपी बिचारका अनुयायीहरू मौन रहनु अथवा अन्योलमा पर्नु किमार्थ उचित होइन । बिपीको सम्झना नेपाली राजनीतिले हरदम गरिरहनु पर्छ । बिपीको सम्झना भनेको उनको पूजा वा स्तुति होइन । बरु उनले प्रजातन्त्र र देशका लागी गरेको योगदानको स्मरण हो र उनले जुन अठोट र सङ्कल्पका साथ सङ्घर्ष गरेर प्रजातन्त्रका लागी लडे, देशको रक्षाका लागी ढाल बनेर खडा भए त्यसलाई अनुकरण गर्दै त्यही पथमा आफूलाई समर्पित गर्नु नै सही मानेमा बिपीको स्मरण गर्नु हो । बिपीको सराद्धे गरेर नेपाली राजनीति सुध्रँदैन । तर काँग्रेसले राजनीतिक अभीष्ट सिद्ध गर्न नेताले देखाएको बाटोमा हिँडेर मात्र लक्ष्य प्राप्ति सम्भव छ । बिपी, गणेशमान,सुवर्ण शमशेर, कृष्णप्रसाद, गिरिजाप्रसाद, सुर्यप्रसाद उपाध्यायहरु जस्ता नेता मात्र तर्पण दिने नाम मात्र होइनन् । तिनको स्मरणले मात्र पनि नयाँपुस्तालाई प्रेरणा र मार्गदर्शन मिल्नु पर्छ । बिपी सङ्कीर्ण व्यक्ति होइनन् । उनले नेपाली राजनीतिको आवश्यकता र यथार्थ राम्रोसँग बुझेर कदम चाल्दा सहयात्री र सहयोगीप्रति कहिल्यै तुच्छ व्यवहार गरेनन् । अहिले त झन् मुलुक झन्डै झन्डै विदेशीको चङ्गुलमा फसिसकेको छ । यस्तो अवस्थामा देश र जनतालाई मध्यनजर राख्दै एकजुट भएर अस्तित्व रक्षाका लागी दृढ कदम उठाउनु जरुरी छ । हो त्यसैको लागी बिपी बिचारलाई मार्गदर्शक सिद्धान्त बनाएर अघि बढ्नु उचित ठहर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *