कांग्रेसले नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने, भोलि पार्टी कार्यालय बन्द
काठमाडौँ । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक मनाउने भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार (श्रावण १२ गते) नेता श्रेष्ठको निधन भएपछि बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ३ दिन शोक मनाउने निर्णय गरेको हो । नेता श्रेष्ठप्रति सम्मान प्रकट गर्दै कांग्रेसले शोक कार्यक्रमहरू सार्वजनिक गरेको छ । श्रावण १३, १४ र १५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने, श्रावण १४ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय भएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । स्वर्गारोहणको १३ औं दिनमा श्रेष्ठको गृह जिल्ला स्याङ्जामा शोक सभा आयोजना गर्ने निर्णय कांग्रेसले गरेको छ ।
श्रेष्ठको निधनले पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति ठहर गरेको छ । वि सं २००४ असार ३१ गते स्याङ्जामा जन्मिएका श्रेष्ठ विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएका थिए । उनी लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सहभागी भएका थिए । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापति समेत बनेका श्रेष्ठ ऐतिहासिक १२ बुँदे सहमतिका हस्ताक्षरकर्ता मध्येका एक थिए । राजनीतिक संघर्षका क्रममा उनले पटक–पटक गरी करिब ६ वर्ष जेल जीवन बिताएको केन्द्रीय कार्यालयको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठ २०४८, २०५६ र २०६४ मा स्याङ्जा जिल्लाबाट प्रतिनिधि सभा सदस्य र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए । श्रेष्ठले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य र शिक्षा मन्त्री जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले कांग्रेस संसदीय दलको प्रमुख सचेतकको भूमिका समेत निर्वाह गरेका थिए ।

















