अर्थमन्त्रीले उद्योगी व्यवसायीले पूर्वाधार तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समस्याहरू समाधान गर्न आफू सकारात्मक भन्नुभयो : ढकाल
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दरमा सुधार गर्न तथा आयात महशुल घटाउन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलवार अर्थ मन्त्रालयमा उद्योगीहरुसँगको छलफलमा उनले निजी क्षेत्रलाई चलायमान बनाउन कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा आवश्यक सुधार गर्न सरकार तयार रहेको बताएका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले अर्थमन्त्री वाग्लेले उद्योगी व्यवसायीले पूर्वाधार तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समस्याहरू समाधान गर्न आफू सकारात्मक रहेको बताएको जानकारी दिए । उनका अनुसार उद्योगीहरूले आयात महशुल, कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करको कारण निजी क्षेत्र समस्यामा रहेको गुनासो राखेका थिए ।
उनले करसँगै निजी क्षेत्रमा अवरोधका रुपमा रहेका ऐन तथा कानून संशोधन गर्ने प्रतिवद्धता अर्थमन्त्री वाग्लेले व्यक्त गरेको पनि बताए । बैठकमा उद्योगीहरुले स्वदेशी उत्पादनले आयातित वस्तुसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था रहेको भन्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले लगानी प्रवर्द्धन, आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन तथा स्वदेशी र वैदेशिक लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको बताएको समेत ढकालले जानकारी दिए । छलफलमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रसँग सम्बन्धित ४२ वटा ऐन यसै वर्ष संशोधन वा खारेज गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रशासनिक झन्झट घटाउने प्रतिवद्धता जनाएको समेत पूर्वअध्यक्ष ढकालले जानकारी दिए ।

















