‘उद्यमी-व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन !‘

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्योगी व्यवसायीको घर र कार्यालयमा छापा मार्नु ठीक नभएको बताएका छन् । सोमबार बिहान पूर्वका प्रतिष्ठित औद्योगिक घराना देवनारा मुन्दडाको घरमा प्रहरीले छापा मारेको थियो । करिब ५ घण्टा लगाएर छापा मारे पनि प्रहरी रित्तो हात फर्कनु परेपछि प्रहरीको आलोचना भइरहेको छ । उद्योगी व्यवसायीलाई राज्यले सुरक्षा प्रदान गर्नुपर्नेमा प्रहरी प्रशासनको आडमा आतंकित पार्न खोजिएको भन्दै आलोचना भइरहँदा पूर्वअर्थमन्त्री खनालले भनेका छन् ‘उद्यमी-व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन !’ गैरकानुनी चिजबस्तुहरू लुकाइ राखेको विशेष सूचनाका आधारमा छापा मार्ग पुगेको दाबी गरेको प्रहरी पाँच घण्टा लामो खोजीपछि रित्तो हात फर्कनु परेको हो । कसैले आरोप र सूचना दिएकै भरमा सुक्ष्म अध्ययन र अनुसन्धान नगरि प्रतिष्ठित उद्योगी व्यवसायीको घरमै पुगेर छापा मार्नु गलत भएको उद्यमीहरूको भनाइ छ । बिहान ५ बजे सबै मार्ग बन्द गरेर मुन्दडाको घरमा प्रवेश गरेको प्रहरीको टोली पौने १० बजे रित्तो हात फर्कियो । प्रहरीको यो अनुसन्धानले विराटनगरका प्रायः सबै औद्योगिक घरानामा आतंक फैलिएको छ । ‘निजी क्षेत्रमाथि राज्यको यो नाङ्गो आतंकले पलायन हुन बाध्य बनाउँछ,’ एक उद्योगीले भने ।

प्रहरीको टोली घरबाट रित्तो हात फर्केपछि घरबाट बेनीगोपाल मुन्दडा र उनका भतिजा प्रकाश मुन्दडासँगै बाहिर निस्किए । उनीहरूले प्रहरीले केही फेला नपारेर फर्केको र क्लिन चिट दिएको बताए । व्यावसायिक संस्थाका अगुवाले यसबाट व्यवसायीमा थप त्रास उत्पन्न गर्ने काम भएको प्रतिक्रिया दिएका छन् । ‘प्रधानमन्त्री र अर्थमन्त्रीले दिउँसो निजी क्षेत्रलाई बोलाएर ढुक्क भएर उद्योग व्यापारमा लगानी गर्न आश्वासन दिन्छन्, तर उद्योगीको घरमा बिहान र राति प्रहरी पठाएर आतंक मच्चाउँछन् । यो राज्यको नाङ्गो आतंक हो,’ अर्का एक उद्योगीले भने । राज्यले पहिला सुन्ने अनि थुन्ने भन्दै आश्वासन दिए पनि त्यसअनुसारको क्रियाकलाप सरकारले देखाउन नसकेको उनले आरोप लगाए । ‘प्रधानमन्त्री र अर्थमन्त्रीले पहिला सुन्ने अनि थुन्ने भन्दै निजी क्षेत्रलाई आश्वासन दिन्छन्,’ ती उद्योगीले भने, ‘यहाँ त ठीक उल्टो भएको छ । पहिला घर तलासी लिने, सार्वजनिक रूपमा बेइज्जती गर्ने अनि केही भेटिएन भन्दै फर्कने, यो त सरासर निजी क्षेत्रको मानमर्दन गर्ने कुरा भो ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *