लुम्बिनी विकास बैंकको नाफामा ठूलो फड्को मारेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०८२।८३ मा नाफामा ठूलो फड्को मारेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०८१।८२ को तुलनामा २५२.९६ प्रतिशतले वृद्धि भई ८५ करोड १० लाख रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा २४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आ.व. मा १ अर्ब ८५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । यद्यपि, खुद फी तथा कमिसन आम्दानीमा भने केही गिरावट आएको छ । अघिल्लो वर्ष २० करोड ६० लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष १८ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन खर्च भने बढेको छ। कर्मचारी खर्च अघिल्लो वर्षको ४५ करोड ९१ लाखबाट बढेर ५७ करोड ८० लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च पनि २० करोड ८२ लाखबाट बढेर २९ करोड ९२ लाख रुपैयाँ पुगेको छ। बैंकको नाफामा उच्च वृद्धि हुनुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको भारी गिरावट हो। अघिल्लो वर्ष जोखिम व्यवस्थाका लागि ७७ करोड ८७ लाख रुपैयाँ छुट्याउनुपरेकोमा यस वर्ष सो रकम घटेर १३ करोड ५० लाख रुपैयाँमा झरेको छ । बैंक व्यवस्थापनका अनुसार कर्जा असुलीमा गरिएको प्रभावकारी अभियान र ऋणीहरूको भुक्तानी क्षमतामा आएको सुधारका कारण नाफामा सकारात्मक प्रभाव परेको हो। बैंकको निष्क्रिय कर्जामा भएको वृद्धिका बाबजुद कर्जा नोक्सानी व्यवस्था घटेको छ।

बैंकको निष्क्रिय कर्जा ४.७१ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत पुगेको छ। बैंकको निष्क्रिय कर्जामा कर्जा नोक्सानी व्यवस्था अनुपात ११३.१४ प्रतिशतबाट घटेर ७९.७४ प्रतिशतमा झरेको छ। यसले बैंकले पर्याप्त कर्जा नोक्सानी व्यवस्था गरेकोमा भने आशंका गर्नुपर्ने देखिएको छ। नाफामा सुधार भएसँगै बैंकको वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ, जसले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने क्षमता पनि १६.९९ प्रतिशत पुर्‍याएको छ । व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जाको आकार भने अघिल्लो वर्षको तुलनामा स्थिर देखिएको छ। बैंकले ५७ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने अघिल्लो वर्षको ४.७१ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा बढे पनि कर्जा नोक्सानी व्यवस्थामा भएको कम खर्चले नाफालाई सघाएको देखिन्छ । वित्तीय सूचकहरूतर्फ बैंकको प्रतिसेयर आम्दानी ६.६५ रुपैयाँबाट उल्लेख्य सुधार भई २३.४८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २१३.७३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) २०.५८ गुणा कायम भएको छ । बैंकको पुँजीकोष अनुपातमा पनि सुधार आएको छ, जुन अघिल्लो वर्ष १३.५६ प्रतिशत रहेकोमा यस वर्ष १४.९६ प्रतिशत पुगेको छ। समग्रमा, बैंकले चुनौतीपूर्ण वातावरणका बीच पनि आफ्नो नाफा र पुँजीकोषको अवस्थालाई मजबुत बनाएको देखिन्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *