माछापुच्छ्रे क्यापिटलद्धारा ७ प्रतिशत लाभांश बाँड्ने घोषणा
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ७ प्रतिशतका दरले २ करोड ४३ हजार ७६५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव अनुमोदनका लागि कम्पनीले भदौ २४ गते दिउँसो साढे १२ बजे काठमाडौंको बालुवाटारस्थित बालुवाटार प्यालेस बैंक्वेटमा सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८२।८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । त्यसैगरी, चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

















