दुर्घटनामा परेका न्यायाधीश सहितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
मकवानपुरमा दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सहित ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेका अनुसार न्यायाधीश डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंतर्फ पठाइएको छ। दाङ तुलसीपुर उपमहानगर ९ का ५७ वर्षीय न्यायाधीश डाँगीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीसँगै गाडीमा सवार अन्य ५ जना समेत घाइते छन्।
दुर्घटनामा परी अदालतका रजिष्ट्रार तारादत्त बडु, उनका छोरा रितेन्द्र बडु, छोरी रिता बडु र श्रीमती लक्ष्मी बडु घाइते छन्। लक्ष्मीको अवस्था भने गम्भीर छ। प्रहरीका अनुसार सो दुर्घटनामा परी चालक छुनिलाल चौधरीलाई घाइते छन्। रजिस्ट्रार बडु र चालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। अन्य चार जनालाई काठमाडौंको छाउनी अस्पताल लगिएको हो। मंगलबार बिहान ८ बजेतिर काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको गाडी भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना भएको हो। गाडी झन्डै ५० मिटर मुनी खसेको प्रहरीले जनाएको छ।

















