एशियन लाइफको ‘ए’ रेटिङ पुनः पुष्टि
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने पर्याप्त क्षमता कायम राखेको भन्दै इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको ‘आईआरएन ए’ अर्थात् ‘ए’ रेटिङको जारीकर्ता मूल्याङ्कनलाई पुनः कायम गरेको छ । ‘ए’ रेटिङको मूल्याङ्कन प्राप्त संस्थालाई वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित मानिन्छ भने त्यस्ता संस्थामा ऋण जोखिम न्यून रहने मूल्याङ्कन गरिन्छ । कम्पनीको वित्तीय तथा व्यावसायिक अवस्थामा देखिएको सुधार, नयाँ व्यवसायअन्तर्गतको बीमा शुल्कमा भएको वृद्धि, नवीकरण बीमा शुल्कमा देखिएको निरन्तर सुधार तथा लगानी पोर्टफोलियोमा आएको विस्तार र विविधीकरणलाई रेटिङ पुनः कायम हुनुका प्रमुख आधार मानिएको छ । पछिल्लो समय कम्पनीले बजारमा आफ्नो स्थान थप सुदृढ गर्दै नयाँ ग्राहक आकर्षित गर्ने रणनीतिमा सफलता हासिल गरिरहेको देखिएको छ । नयाँ व्यवसाय विस्तारसँगै नवीकरण बीमा शुल्कमा समेत निरन्तर वृद्धि हुनु कम्पनीको व्यवसायिक स्थायित्वका लागि सकारात्मक पक्षका रूपमा हेरिएको छ । त्यस्तै, लगानीको समग्र संरचनामा विस्तार र विविधीकरण हुँदा कम्पनीको वित्तीय स्रोत परिचालन तथा लगानी क्षमता पनि थप बलियो बनेको मूल्याङ्कन गरिएको छ । सन् २००८ मा स्थापना भएको एशियन लाइफ १८ वर्षभन्दा लामो सञ्चालन इतिहास भएको नेपालका पुराना जीवन बीमा कम्पनीमध्ये एक हो । लामो व्यावसायिक यात्राका क्रममा कम्पनीले वातावरणीय, औद्योगिक तथा राजनीतिक क्षेत्रमा आएका विभिन्न परिवर्तन र चुनौतीको सामना गर्दै आफ्नो व्यवसायलाई समयअनुकूल अघि बढाउँदै आएको छ । यही लामो सञ्चालन अनुभवसँगै कम्पनीमा दैनिक कार्य सञ्चालनको जिम्मेवारी सम्हाल्ने दक्ष, अनुभवी तथा व्यावसायिक कर्मचारी र व्यवस्थापन टोली रहेको छ । कम्पनीको व्यापक भौगोलिक उपस्थितिलाई पनि रेटिङमा सकारात्मक आधार मानिएको छ । कम्पनीले नेपालका सातै प्रदेशमा आफ्नो सेवा विस्तार गरेको छ भने आर्थिक वर्ष २०८२।८३ सम्ममा ५१ वटा शाखा र ७७ वटा उपशाखा सञ्चालनमा छन् । कम्पनीको सेवा पहुँच ७४ जिल्लासम्म विस्तार भएको छ । यसले देशका विभिन्न क्षेत्रका ग्राहक तथा बीमितसम्म जीवन बीमा सेवा पुर्याउने कम्पनीको क्षमता बलियो बनाएको छ । कम्पनीसँग करिब २९ हजार २९१ जना व्यक्तिगत अभिकर्ता तथा चार वटा संस्थागत अभिकर्ता रहेका छन् । बीमा सेवा विस्तार तथा नयाँ ग्राहक जोड्न अभिकर्ता सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कम्पनीले जनाएको छ । देशभर फैलिएको कार्यालय तथा अभिकर्ता सञ्जालका कारण कम्पनीले बजार पहुँच विस्तार गर्दै आफ्नो व्यावसायिक आधार थप फराकिलो बनाउन सकेको देखिन्छ ।
कम्पनीको स्वामित्व संरचनामा प्रवद्र्धकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहेको छ । प्रमुख प्रवद्र्धकमा राजेशलाल श्रेष्ठ, रत्नदेवी श्रेष्ठ, रुक्मिणी बस्नेतलगायत रहेका छन् । प्रवद्र्धक र सर्वसाधारणबीचको यस्तो स्वामित्व संरचनाले कम्पनीमा प्रवद्र्धक पक्षको महत्वपूर्ण नियन्त्रण कायम राख्नुका साथै सर्वसाधारणको उल्लेख्य स्वामित्व पनि सुनिश्चित गरेको छ । कम्पनीको पुनर्बीमा व्यवस्था पनि पर्याप्त रहेको रेटिङ मूल्याङ्कनमा उल्लेख गरिएको छ । एशियन लाइफले प्रतिपोलिसी करिब चार लाख रुपैयाँको न्यून जोखिम धारण सीमा कायम गरेको छ । साथै, विपत्तिजन्य जोखिमका लागि समेत पुनर्बीमाको व्यवस्था गरिएको छ । यसले ठूलो विपत्तिका कारण एकैपटक उत्पन्न हुन सक्ने उच्च दाबी तथा भुक्तानीको जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउने देखिन्छ । बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने अवस्थामा कम्पनीको वित्तीय क्षमताले पर्याप्त आधार प्रदान गर्ने मूल्याङ्कन गरिएको छ । कम्पनीको बीमित कोष पनि पछिल्लो समय थप बलियो बनेको छ । सन् २०२६ को मध्य अप्रिलसम्म कम्पनीको बीमित कोष करिब ५२ अर्ब रुपैयाँ पुगेको छ, जुन आर्थिक वर्ष २०८१।८२ मा करिब ४७ अर्ब रुपैयाँ थियो । त्यस्तै, विपत्तिजन्य जोखिमका लागि छुट्याइएको कोष करिब ३२२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कोष करिब २८७ करोड रुपैयाँ रहेको थियो ।

















