भाटभटेनीको भक्तपुर स्टोर चौबीसै घण्टा खुला
काठमाडौं । भाटभटेनीको भक्तपुर स्टोर चौबीसै घण्टा खुला गरिएको छ । आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनमा ल्याएको जनाएको छ । सोहीअनुसार पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गरिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबारदेखि परीक्षणको काम गरिएको बताउँदै सोमबारदेखि चौबीसै घण्टा खुला गरिएको बताए । विश्वमा यस्ता स्टोरहरु चौबीसै घण्टा खुल्ने बताउँदै गुरुङले भाटभटेनी पनि सोहीअनुसार सञ्चालनमा ल्याउन लागिएको बताए । अध्यक्ष गुरुङले भने– भक्तपुर स्टोर्स चौबीसै घण्टा खुला भएको छ ।” भाटभटेनीका सीओओ पानु पौडेलले पनि अन्तर्राष्ट्रिय चेन स्टोरहरु चौबीसै घण्टा खुला रहने र अति व्यस्त हुने ग्राहकलाई बेलुकाको समयमा फुर्सद निकालेर किनमेल गर्न सहज होस् भनेर खुला गरिएको बताए । उनले एउटा स्टोर्समा २५–३० वटा सवारीसाधन ओहोर दोहोर हुने भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको पनि रातिको समयमा काम गर्दा त्यसका लागि पनि सहज हुने बताए ।
“हामीले ग्राहकलाई सहज होस् भन्नका लागि यो निर्णय लिएका हौँ,” पौडेलले भने, “भक्तपुरपछि टंगाल र पाटन चौबीसै घण्टा खुला राख्ने योजना बनाएका छौँ ।” अहिलेसम्म बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म खुला रहँदै आएको भए पनि चौबीसै घण्टा खुला राख्दा ग्राहकलाई नै सहज हुने भाटभटेनीको विश्वास छ । अध्यक्ष मीनबहादुर गुरुङका अनुसार राति काम गर्ने कर्मचारीले नियमित तलबभन्दा २५ प्रतिशत बढी रकम प्राप्त गर्नेछन् । राति चिया खाजाको पनि व्यवस्था गरिएको छ । भाटभटेनी मुलुकको सबैभन्दा ठूलो चेन स्टोर हो । गतवर्ष जेनजी आन्दोलनअघिसम्म कम्तिमा पनि २८ वटा स्टोरबाट सेवा दिइरहेको भाटभटेनीका १२ बढी स्टोरमा आगजनी भएको थियो । आगजनी गरिएकामध्ये अधिकांश स्टोर सञ्चालनमा आइसकेका छन् । टंगालमा रहेको भाटभटेनी पनि यसै महिनादेखि सञ्चालनमा ल्याउने तयारी छ ।

















