बालविवाहमुक्त प्रदेश बनाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
सुर्खेत । बालविवाहविरुद्धको साझा महाअभियान सञ्जाल कर्णाली प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न २३ वटा संस्थाहरूको सञ्जालले सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । बालविवाह अन्त्यका लागि रणनीति निर्माण, प्रदेश सरकारले स्थानीय सरकारहरूलाई बालविवाह अन्त्यका लागि स्थानीय रणनीति निर्माण गर्न प्रोत्साहन गरियोस् भन्नेलगायतका माग पत्रमा छ।
प्रदेशका सबै पालिकालाई बालविवाहको स्थिति अध्ययन र विश्लेषण गरी सोको तथ्यांकको निरन्तर अध्यावधि गर्ने प्रणालीको विकास गर्न, बालविवाह अन्त्यसम्बन्धी नीति कानुनको कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्न, प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा उजुरी प्रक्रिया सहज गर्न ध्यानाकर्षण गरिएको छ ।