बाढीपीडितका लागि कांग्रेस वाग्मतीले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने

हेटौँडा । नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिले बाढीपीडितका निम्ति सहयोग गर्ने निर्णय गरेको छ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउन प्रदेश कार्यसमितिले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । कांग्रेस वाग्मती प्रदेश कार्यसमितिको तर्फबाट उक्त रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कांग्रेसले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुग्ने गरी उपलब्ध गराउने जनाएको छ । बैठकले भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको तथा चितवन, गोरखा, तनहुँ र नवलपरासी समेत प्रभावित बनेको भन्दै बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । प्रदेश सरकार मातहतका अस्पतालमा उपचाररत घाइतेको निःशुल्क उपचार, बिरामी तथा कुरुवाको व्यवस्थापन र खानाको व्यवस्था गर्न तथा दीर्घरोगीका लागि उपलब्ध गराइँदै आएका निःशुल्क औषधिको अभाव हुन नदिनसमेत ध्यानाकर्षण गराइएको छ ।

बाढी प्रभावित क्षेत्रमा पार्टीको प्रदेशदेखि वडा र टोल तहसम्मको संरचना परिचालन गर्ने निर्णय गर्दै उद्धार, राहत र पुनर्स्थापनामा सरकारी निकायसँग समन्वय गर्न प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । समितिले रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रदेश कार्यसमिति तथा सम्बन्धित जिल्ला सभापतिसँग समन्वय गरी आवश्यक काम अघि बढाउनेछ । बाढीका कारण प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन वैकल्पिक सडक, झोलुंगे पुल र बेलीब्रिज निर्माण तत्काल अघि बढाउन तथा घरबारविहीन परिवारका लागि अस्थायी र स्थायी पुनर्वासको व्यवस्था गर्न कांग्रेसले प्रदेश सरकारसँग आग्रह गरेको छ । साथै, आर्थिक वर्ष २०८३।८४ को बजेटमा समावेश एक हजार घर निर्माण तथा आयआर्जनका लागि सीप, प्रविधि र बीउ पुँजी हस्तान्तरण कार्यक्रमलाई बाढीपीडितको पुनर्स्थापनामा केन्द्रित गर्न माग गरिएको छ । बैठकले भोटेकोसी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, कांग्रेस वाग्मती प्रदेश प्रशिक्षण विभागका सदस्यसचिव रामेश्वर ढकालकी धर्मपत्नी शुभद्रा ढकालको गोसाइँकुण्ड क्षेत्रमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *