चार दिनदेखि ग्यास अभाव भोगिरहेको उपत्यकामा भोलिदेखि आपूर्ति सुरु
काठमाडौं। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि विगत चार दिनदेखि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति शृंखला अस्तव्यस्त बनेको छ। यसले उपत्यकावासीलाई घरायसी प्रयोजनका लागि ग्यास अभावको सामना गर्नुपरेको छ। यद्यपि वैकल्पिक सडक मार्गको प्रयोगबाट भोलिदेखि भरिभराउ ग्यास सिलिन्डर उपत्यका भित्रिने भएकाले यो समस्या क्रमशः समाधान हुने अपेक्षा गरिएको छ। गत भदौ १४ गते त्रिशूली नदीको बढ्दो प्रवाहका कारण कृष्णभीरको करिब २० मिटर लामो सडकखण्डको आधाभन्दा बढी भाग नदीमा भासिएको थियो। यसका कारण उक्त मार्गबाट हुने आवागमन पूर्ण रूपमा अवरुद्ध भई काठमाडौं उपत्यकामा आपूर्ति हुने ग्यासको ढुवानी प्रणाली नै खल्बलिएको थियो। नियमित मार्ग अवरुद्ध भएपछि उपत्यकामा क्रमशः ग्यासको हाहाकार बढ्दै गएको थियो, जसलाई सम्बोधन गर्न अब वैकल्पिक सडकको प्रयोग गरी ग्यास ढुवानी गरिने भएको हो। उपत्यकामा ग्यास ढुवानीको समस्या समाधानका लागि सम्बन्धित पक्षहरूबीच बुधवार महत्त्वपूर्ण छलफल भएको थियो। मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको संयोजकत्वमा भएको उक्त बैठकमा नेपाल एल.पी.ग्यास उद्योग संघअन्तर्गतका विभिन्न उद्योगका प्रतिनिधि र नारायणी यातायात व्यवसायी संघका प्रतिनिधिहरूबीच लामो छलफल भएको थियो। लामो छलफलपछि दुवै पक्षबीच द्विपक्षीय सहमति कायम भई ग्यास ढुवानीका लागि स्पष्ट भाडा दर तोकिएको छ। भाडा दरसम्बन्धी अन्योल हटेसँगै अब उपत्यकासम्म ग्यास ढुवानी गर्ने कार्य व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ। यसै क्रममा त्रिभुवन राजपथ र कान्ति राजपथ हुँदै वैकल्पिक सडक मार्गबाट ग्यास ढुवानीलाई प्राथमिकता दिने निर्णय भएको छ। प्रशासनका अनुसार उपत्यकामा ग्यासको अभाव हुन नदिनका लागि बुधवारदेखि नै ट्रकमार्फत ग्यास ढुवानी सुरु भइसकेको छ।जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार त्रिभुवन राजपथमार्फत उपत्यकातर्फ पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनहरू भित्रिइरहेका छन्। तर ग्यास उद्योगी तथा व्यवसायीहरूले भने १२ चक्के ठूला ट्रकलाई पनि आवतजावत गर्न दिनुपर्ने माग राखेका छन्। यद्यपि सडकको हालको क्षमता कमजोर रहेकाले हाल साना सवारीसाधनलाई मात्रै आवतजावतको अनुमति दिइएको प्रजिअ अधिकारीले जानकारी दिए। उनका अनुसार उद्योगी, व्यवसायी र प्राविधिक टोलीले सडकको अवस्थाको विस्तृत निरीक्षण गरेपछि मात्रै १२ चक्के ट्रकलाई आवतजावतको अनुमति दिने वा नदिने विषयमा अन्तिम निर्णय गरिनेछ। हाल उपत्यकामा १० चक्के ट्रकमार्फत मात्रै ग्यास ढुवानी भइरहेको बताउँदै प्रजिअ अधिकारीले भने कुनै पनि सवारीसाधनलाई उपत्यका प्रवेशमा रोक नलगाइएको स्पष्ट पारे। यस सम्बन्धमा प्रजिअ अधिकारीले भने, १२ चक्के गाडीको त सडकको बनोट (डिजाइन) नै धान्दैन। बनोट नै नपुगेपछि ठाउँ,ठाउँमा समस्या सिर्जना हुन्छ, त्यसैले त्यसलाई अहिलेका लागि रोकेर राखेका छौं। प्राविधिक रूपमा उपयुक्त देखिएमा कुनै समस्या हुँदैन। उनका अनुसार हाल १२ चक्के ट्रकबाट ग्यास ढुवानीमा रोक लगाइए पनि १० चक्के ट्रकमार्फत हरेक दिन नियमित रूपमा ग्यास भित्रिइरहेको छ। उद्योगी, व्यवसायी र प्राविधिक टोलीले उपत्यका प्रवेशद्वार कान्ति लोक पथको अवस्थाबारे आज र भोलि गरी दुई दिन विस्तृत अध्ययन गर्ने र सोको प्रतिवेदन प्रशासनसमक्ष बुझाउने छन्। सो प्रतिवेदनपछि मात्रै उक्त राजमार्गमार्फत १२ चक्के ट्रकबाट ग्यास ढुवानी गर्न दिने वा नदिने टुंगो लाग्ने प्रशासनले जनाएको छ। प्रजिअ अधिकारीका अनुसार जबसम्म प्राविधिक टोलीले कान्ति लोक पथको अध्ययन गरी प्रतिवेदन बुझाउँदैन, तबसम्म १२ चक्के ट्रकबाट ग्यास ढुवानी सम्भव नहुने भए पनि १० चक्के ट्रकमार्फत प्रत्येक पटक चार सय सिलिन्डरसम्म ढुवानी गर्दा कुनै प्राविधिक समस्या नरहेकाले यो क्रम निरन्तर जारी रहेको छ। काठमाडौं उपत्यका र यससँग सेरोफेरोमा जोडिएका जिल्लाहरूमा दैनिक करिब ४० हजार सिलिन्डर एल।पी।ग्यासको खपत हुने गरेको छ। यत्रो ठूलो माग धान्ने चुनौतीलाई सामना गर्न हेटौंडास्थित सहारा ग्यास उद्योगलाई तीन सिफ्टमा विभाजन गरी चौबीसै घण्टा सञ्चालनमा ल्याइएको छ, ताकि उत्पादनमा कुनै कमी नआओस्। यसका साथै मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सा जिल्लामा रहेका थप ग्यास रिफिलिङ उद्योगहरूलाई पनि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यसो गर्नाले एउटै क्षेत्रमा मात्रै उत्पादन थुप्रिएर अन्यत्र अभाव हुने अवस्थाबाट जोगिन सकिने विश्वास लिइएको छ।
आपूर्ति सुधार्दै भए पनि मूल्यबारे अन्योल कायमै नेपाल एसपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार उपत्यकामा हाल १० चक्के ट्रकमार्फत केही मात्रामा ग्यास भित्रिइरहेको भए पनि यो आवश्यकताको तुलनामा अझै पर्याप्त छैन। उनका अनुसार भोलिदेखि तराईका विभिन्न ग्यास उद्योगबाट झन्डै एक सय ग्यास लोड गरिएका १० चक्के ट्रकहरू उपत्यका भित्रिने योजना छ, जसले अभावलाई केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ। यद्यपि उपत्यकामा भोलिदेखि ग्यास प्रशस्त मात्रामा भित्रिने भए पनि ढुवानी खर्चसहितको मूल्य बढ्ने हो वा पुरानै दरमा कायम रहने हो भन्ने विषयमा भने अझै आधिकारिक जानकारी नआएको उनले बताए। यस सम्बन्धमा नेपाल आयल निगम लिमिटेडका प्रवक्ता मनोज ठाकुरले थप स्पष्ट पारे, उपत्यकामा आयातित ग्यासको ढुवानी लागतसहितको मूल्यको विषयमा स्थानीय व्यवसायीले आफूखुसी निर्णय गर्न नपाउने कानुनी व्यवस्था रहेको छ। उनका अनुसार निगमले उद्योगस्थलदेखि ५० किलोमिटरको दायराभित्रको मात्रै मूल्य निर्धारण गर्न पाउने कानुनी व्यवस्था छ। ५० किलोमिटरभन्दा बाहिरको क्षेत्रमा भने व्यवसायीले आफैं मूल्य तोक्न पाउने भएकाले हाल उपत्यकामा ग्यासको मूल्य बढ्ने हो वा यथावत् रहने हो भन्नेबारे निगमसँग नै आधिकारिक जानकारी नरहेको प्रवक्ता ठाकुरले जनाए। निगमले ५० किलोमिटरसम्मको दायरामा मात्रै ग्यासको मूल्य तोक्ने व्यवस्था रहे पनि त्योभन्दा बाहिरका क्षेत्रमा स्थानीय प्रशासन र उद्योगी व्यवसायीले आफ्नो ढुवानी खर्च जोडेर बिक्री,वितरण गर्न पाउने कानुनी अधिकार रहेको छ। यसै व्यवस्थाका कारण उपत्यकामा आगामी दिनमा ग्यासको दररेट कस्तो रहने भन्ने अझै स्पष्ट हुन बाँकी छ।

















