राष्ट्रसंघमा जलवायु न्यायको तथ्यपरक वकालत गर्न गगनले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । कांग्रेस सभापति गगन थापाले जलवायु न्यायका निम्ति राष्ट्रसंघका तार्किक र तथ्यपरक प्रस्तुतिका लागि प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले प्रधानमन्त्री साहको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुँदा भोटेकोसी बाढी र जलवायु परिवर्तनका विषयमा तथ्य र प्रमाणसहित पेस हुन उनले आग्रह गरे । हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ । अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ । नेपालले हानी र नोक्सानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ । यसअघिका प्रधानमन्त्रीहरू महासभामा जाँदा उठेका कुरा र उनीहरूले जलवायु न्यायका लागि गरेको पहललाई समेत निरन्तरता दिन थापाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । राष्ट्रसंघको महासभामा आफ्नो सचिवालयमा मात्रै निर्भर नहुन उनले प्रधानमन्त्रीलाई सुझाएका छन् ।

















