देवानगञ्जमा गोली लागेर निरज यादव घाइते
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर एक जना घाइते भएका छन् । शनिबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएको वडाध्यक्ष सूर्यनारायण पालले जानकारी दिए । प्रहरीका अनुसार उनको तिघ्रामा गोली लागेको छ । गोली लागेर गम्भीर घाइते उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार गोली चलाउने समूहको पहिचान खुलेको छैन ।
डीएसपी खड्काले घटना संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । अन्यको खोजी भइरहेको छ । ‘घाइतेको तिघ्रामाथि चोट छ, गोली लागेको भनिएको छ, तर हतियार बरामद भएको छैन,’ उनले भने, ‘हामी थप अनुसन्धान गर्दैछौं ।’ गोली चलेपछि स्थानीय आक्रोशित भएका छन् । थप क्षति हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

















