नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’मा घरकर्जामा बैंकबीच प्रतिस्पर्धा
काठमाण्डौं । बैंकको ब्याजदर घटेसँगै व्यक्तिगत घरकर्जामा आकर्षण बढ्न थालेको छ । भृकुटीमण्डपमा जारी ‘नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’मा सहभागी बैंकहरूले ६ प्रतिशतभन्दा कम ब्याजदरमै घरकर्जा योजना सार्वजनिक गरेका छन् । प्रदर्शनीमा विपद्पछिको सुरक्षित आवास र एकीकृत आवास विकासबारे समेत सरोकारवालाबीच छलफल भइरहेको छ । मेलामा चार वाणिज्य बैंक, चार विकास बैंक र एक फाइनान्स कम्पनी गरी नौ वित्तीय संस्था सहभागी छन् । प्रदर्शनीमा सिद्धार्थ बैंकले पनि सात वर्षका लागि ५.९९ प्रतिशत ब्याजदरमा घरजग्गा कर्जा उपलब्ध गराएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले स्थिर ब्याजदरमा ५.९९ प्रतिशत र परिवर्तनशील ब्याजदरमा ५.४६ प्रतिशतमा घरकर्जा अफर गरेको छ । प्रभु बैंकले ५.४४ प्रतिशतमा घर कर्जाको स्किम ल्याएको छ ।
यस्तै सिटिजन्स बैंकको स्किममा ५ वर्ष अवधिसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदर बाँकी अवधिका लागि परिवर्तिमा गर्न सकिने व्यवस्था ल्याएको छ । लक्ष्मी सनराइज बैंकको २० वर्ष अवधिको घर कर्जा दिइरहेको छ । यो बैंकले घरजग्गा मेलालाई लक्षित गरी ब्याजदर जम्मा ५.४९ प्रतिशत तोकेको छ । यो योजना अन्तर्गत ग्राहकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । गरिमा विकास बैंकले ५.२३ १ प्रतिशत प्रिमियम र ७० प्रशित फाइनान्ससहित आवास कर्जा योजना ल्याएको छ । महालक्ष्मी विकास बैंकले साधारण घरजग्गा कर्जाका लागि ५.९९ प्रतिशतदेखि सुरु सेवा शुल्कमा विशेष छुटसहित घरकर्जा ल्याएको छ । गोर्खाज फाइनान्सले बेसरेटमा ०.५० प्रतिशत प्रिमियम थपेर कर्जा दिनेछ । कम्पनीको बेसरेट हाल ६.२१ प्रतिशत छ । समग्र कर्जा माग सुस्त रहेका बेला बैंकहरूले व्यक्तिगत घरकर्जालाई प्राथमिकता दिन थालेका हुन् । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२।८३ सम्म बैंक तथा वित्तीय संस्थाको व्यक्तिगत घरकर्जा ४ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ४ खर्ब १७ अर्ब ५७ करोड रुपैयाँको तुलनामा यो १३.५२ प्रतिशत बढी हो ।
















