पहिरोका कारण अवरुद्ध छन् यी सडक
काठमाडौं । बाढीपहिरोका कारण मुलुकका विभिन्न सडक अवरुद्ध भएका छन् । बिहीबार बिहान ७ः३० बजे अपडेट सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो । खोटाङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान ६ः४० बजे खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ दौतेखोलामा ढुंगासहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अर्घाखाँचीस्थित सालझण्डी,ढोरपाटन सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहीबार बिहान ७ः९ बजे अर्घाखाँचीको पाणिनी गाउँपालिका २, ढुङग्रेखोला नजिकै सालझण्डी,ढोरपाटन सडकमा लेदोसहितको पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

















