विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालद्धारा ओमान पराजित

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा घरेलु टोली ओमानलाई पराजित गरेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सोमबार भएको खेलमा नेपालले ओमानलाई १० रनले हराएको हो । जारी शृंखलामा नेपालको यो तेस्रो जित हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमान ५० ओभरमा ६ विकेट गुमाएर २७० रनमा समेटियो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ रनको योगदान गरे । हम्माद मिर्जाले ८७ तथा हस्नैन शाहले ४० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान २–२ विकेट लिए । नन्दन यादव र सन्दीप लामिछानेको नाममा १–१ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २८० रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८० रनको योगदान गरे । रोहितले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाए । देव खनालले ६५ बलमा ४ चौका र १ छक्कासहित ५७ रन बनाए । ओमानका लागि शाह फेसलले ८ ओभरमा ५७ रन खर्चेर ५ विकेट लिए । जय ओडेराले ३ तथा समय श्रीवास्तवले २ विकेट हात पारे । यस जितसँगै नेपाल अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । नेपालले जारी संस्करणको लिग–२ मा ३६ खेलमध्ये १४ मा जित, २० मा र दुई खेलमा अंक बाँड्यो । नेपालले ३६ खेलबाट ३० अंक जोडेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *