ह्यारी केनले जिते सन् २०२६ को बालोन डी’ओर अवार्ड
काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले १९७८ र १९७९ मा यो अवार्ड जितेका थिए। किलियन एमबाप्पे र लामिन यामाललाई पछि पार्दै उनले यो अवार्ड जितेका हुन् । यसपटक रियल मड्रिड तथा फ्रान्सका फरवार्ड एम्बाप्पे दोस्रो र बार्सिलोना तथा स्पेनका यमाल तेस्रो भए। अवार्ड जितेपछि केनले आफ्नो करिअरमा धेरै उतारचढाव आएको र सफलताका लागि धैर्य गर्दै कडा मेहनत गर्नुपरेको बताए। सुरुआती समयमा आफूलाई सम्भावित सुपरस्टारका रूपमा नहेरिएको उल्लेख गर्दै उनले आत्मविश्वास र दृढताका साथ अघि बढेको बताए। इंग्ल्यान्डका प्रशिक्षक थोमस टुकेलले केनले अवार्ड जित्दा आफू खुसी भएको बताए। बेलायती राजकुमार विलियमले पनि उनलाई उत्कृष्ट कप्तान र असाधारण खेलाडीका रूपमा प्रशंसा गरेका छन्।
केनले गत सिजन क्लबका लागि ५१ खेलमा ६१ गोल गरेका थिए। बायर्नका कुनै पनि खेलाडीले एक सिजनमा गरेको यो सर्वाधिक गोल हो। इंग्ल्यान्डका लागि खेलेका खेलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल र आठ असिस्ट गरेका थिए। यद्यपि, गत सिजन केनले विश्वकप र च्याम्पियन्स लिगका सेमिफाइनलमा हार बेहोरेका थिए। उनले ती दुई प्रतियोगिताका उपाधि जित्न नसके पनि बालोन डी’ओर जितेका हुन्। केन बायर्न म्युनिखबाट बालोन डी’ओर जित्ने सन् १९८१ यताका पहिलो खेलाडी बनेका छन्। उनको सफलताको खुसीयालीमा सोमबार राति वेम्बली रंगशालाका आर्चहरू सुनौलो प्रकाशले सजाइएको थियो।

















