नेपाल लिक्वरको व्यापार बढेर १ अर्ब २७ करोड पुग्यो

काठमाडौं । सिग्नेचरसहित अन्य ब्रान्डको ह्वीस्की बेच्ने नेपाल लिक्वर प्रा.लि.को व्यापार १३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा १३ प्रतिशतले बढेर १ अर्ब ४३ करोड ७० लाख रुपैयाँ पुगेको हो । सन् २०२५ मा कम्पनीको १ अर्ब २७ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो । यसअघि सन् २०२४ मा कम्पनीको व्यापार १ अर्ब २० करोड ९० लाख रुपैयाँ थियो भने सन् २०२३ मा ७६ करोड ४० लाख रुपैयाँको व्यापार भएको थियो । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ५ प्रतिशतले वृद्धि भएको थियो । सन् १९८२ मा स्थापना भएको नेपाल लिक्वर नेपालको पुरानो मदिरा उद्योगमध्ये एक हो । राजेशवीरसिंह तुलाधरको नेतृत्वमा रहेको यो उद्योगमा उनैको ९९ प्रतिशत स्वामित्व छ । विराटनगरमा उद्योग रहेको यो कम्पनीले बोटल्स र स्पिरिट ब्रान्डको मदिरा बजारीकरण गर्दै आएको छ । कम्पनीले सिग्नेचर प्रिमियर ग्रेन ह्वीस्की, सिग्नेचर रेयर एज्ड ह्वीस्की, स्मिरनोफ भोड्का, एमआर डोवेल्स ह्वीस्की, एन्टीक्वीटी ब्ल्यू अल्ट्रा(प्रिमियम ह्वीस्की, रोयल च्यालेन्ज ह्वीस्की र ब्ल्याक हर्स ह्वीस्की बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार गत आवमा नयाँ ब्रान्ड एमआर डोवेल्स ह्वीस्कीको उच्च माग हुँदा व्यापार बढेको हो ।

गत आवमा भएको व्यापारमा एमआर डोवेल्सबाट मात्रै ५२ प्रतिशत आम्दानी भएको कम्पनीले जनाएको छ । कम्पनीको आम्दानीमा भएको सुधारसँगै विज्ञापन तथा बिक्री प्रवर्द्धन खर्चमा उल्लेख्य कमी आएको छ । सन् २०२४ मा ३१ करोड ७० लाख रुपैयाँ विज्ञापन तथा बिक्री प्रवर्द्धनका लागि खर्च भएकोमा सन् २०२५ मा ९ करोड ४० लाख रुपैयाँ मात्रै खर्च भएको थियो । गत आवमा भने कम्पनीको विज्ञापन तथा बिक्री प्रवर्द्धनका लागि गरिने खर्च बढेर १५ करोड रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफामा भएको सुधार र ब्याज खर्चमा आएको कमीका कारण कम्पनीको नाफा सकारात्मक छ । गत आवमा भने ग्रस क्यास एक्रुअलमा सुधार भई ९ करोड १० लाख रुपैयाँ पुगेको छ । यसअघि कम्पनीको ग्रस क्यास एक्रुअल सन् २०२४ मा १९ करोड रुपैयाँ ऋणात्मक रहेकोमा २०२५ मा सुधार भई ५ करोड २० लाख रुपैयाँ पुगेको थियो । कम्पनीको पुँजी संरचना उच्च ऋणमा निर्भर छ । कम्पनीको गियरिङ सन् २०२५ मा ४०.७७ गुणा ऋणात्मक रहेकोमा सन् २०२६ मा २९.६२ गुणा नकारात्मक रहेको छ । नेपाल लिक्वरको ब्याज कभरेज अनुपातमा भने सुधार भई १.६१ गुणा पुगेको छ । सन् २०२५ मा कम्पनीको ब्याज कभरेज अनुपात १.२५ गुणा थियो । कम्पनीको ऋण सेवा कभरेज अनुपात सन् २०२५ मा ०.९६ गुणा रहेकोमा २०२६ मा १.२६ गुणा रहेको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९६ करोड ७६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९३ करोड ८६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब २ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *