एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दक्षिण कोरिया जाँदै उपसभापति चौधरी

काठमाडौं । उद्योगीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्यापको १३ औँ महासभामा भाग लिन दक्षिण कोरियाको राजधानी सियोल जाने भएका छन् । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी उक्त सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । उपसभापति चौधरीले सम्मेलनमा एसियाभरिका राजनीतिक नेतृत्वसँग विचार आदानप्रदान गर्न आफू उत्सुक रहेको बताएका छन् । यस वर्ष सम्मेलनको मूल नारा ‘रूपान्तरणकारी विश्वमा विश्वासको पुनर्निर्माण’ रहेको उल्लेख गर्दै उहाँले यो विषय नेपालको सन्दर्भमा झनै सान्दर्भिक रहेको उनको भनाइ छ । ‘आजको समयमा जब हाम्रो युवा पुस्ताले थप जवाफदेहिता, अर्थपूर्ण अवसरहरू र सुरक्षित भविष्यको माग गरिरहेको छ, यस्तो अवस्थामा राजनीतिक नेतृत्वले नयाँ सोच, पारदर्शिता र नतिजामूलक कामद्वारा त्यसको सम्बोधन गर्नैपर्छ,’ उनले भनेका छन् । सम्मेलनका क्रममा नेपालका अनुभवहरू अन्तर्राष्ट्रिय मञ्चमा साझा गर्ने बताउँदै उनले बलियो क्षेत्रीय सहकार्यमार्फत लोकतान्त्रिक पुनर्जागरण, आर्थिक रूपान्तरण र समग्र एसियाभर साझा समृद्धि हासिल गर्ने विषयमा गहन छलफल हुने अपेक्षा व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *