कांग्रेस पदाधिकारीको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीको बैठक बस्दै छ । बैठक बिहीबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारीको बैठक बस्न लागेको महामन्त्री डा। डिला संग्रौला पन्तले जानकारी दिइन् । उनका अनुसार, पछिल्लो समय राजनीतिक घटनाक्रमलाई लिएर पदाधिकारीहरूबीच अनौपचारिक छलफल निरन्तर हुँदै आएको छ । उनले भनिन्, “हामी निरन्तर बैठकमै छौँ । सरकारले षड्यन्त्र गर्दै छ ।
कपोलकल्पित र निराधार विषयमा, भेटै नभएको मान्छेसँग कांग्रेसलाई जोडेर दुस्प्रचार गरिएको छ ।” बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै, पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ । बैठकबाट पदाधिकारीहरूको कार्यविभाजन गर्ने तयारीसमेत कांग्रेसले गरेको छ । असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको कार्यविभाजन हालसम्म हुन सकेको छैन । सोही कार्यविभाजनका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

















