तीन महिनामै २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात

काठमाण्डौ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो तीन महिनामै नेपालमा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी मूल्यको भाइ मसला तथा सुक्खा फलफूल आयात भएको छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा दिने ओखर, काजु, बदाम, किसमिस र नरिवलको माग चाडपर्वका बेला उल्लेख्य रूपमा बढ्ने गर्छ। यही माग धान्न तीन महिनामै ठूलो परिमाणमा यस्ता वस्तु आयात गरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ओखर, बदाम, काजु, किसमिस र नरिवल गरी कुल २ अर्ब ४४ करोड १४ लाख ७८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। सो आयातबाट सरकारले ५९ करोड ३३ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। रकमका आधारमा सबैभन्दा धेरै ओखर आयात भएको छ। तीन महिनामा १५ लाख २५ हजार २५० किलोग्राम ओखर आयात गर्दा ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बाहिरिएको छ। यसबाट सरकारले १५ करोड ८९ लाख ७० हजार रुपैयाँ राजस्व उठाएको छ। ओखर मुख्य रूपमा चीन र अमेरिकाबाट आयात भएको छ। चीनबाट करिब ४७ करोड २ लाख रुपैयाँ तथा अमेरिकाबाट १८ करोड ३६ लाख रुपैयाँ बराबरको ओखर भित्रिएको छ। परिमाणका आधारमा भने नरिवल सबैभन्दा धेरै आयात भएको छ। तीन महिनामा १ करोड १४ लाख ६ हजार २०७ किलोग्राम नरिवल आयात गरिएको छ। यसको आयात मूल्य ५६ करोड ६० लाख ७० हजार रुपैयाँ रहेको छ भने राज्यले ११ करोड १० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। नरिवल आयातमा नेपाल लगभग पूर्ण रूपमा भारतमा निर्भर छ। यसैगरी ५ लाख ९ हजार ७८ किलोग्राम बदाम आयात गर्दा ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ बाहिरिएको छ। बदाम आयातबाट ११ करोड ६५ लाख ५३ हजार रुपैयाँ राजस्व उठेको छ। यसको ठूलो हिस्सा अमेरिकाबाट आएको छ। अमेरिकाबाट मात्रै ४७ करोड ४२ लाख रुपैयाँ बराबरको बदाम आयात भएको छ। काजु आयातमा पनि ठूलो रकम खर्च भएको छ। तीन महिनामा ४ लाख ६९ हजार ५१६ किलोग्राम काजु आयात हुँदा ४६ करोड ५७ लाख २६ हजार रुपैयाँ बाहिरिएको छ। यसबाट सरकारले १३ करोड ९५ लाख ५२ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ। काजु मुख्य रूपमा भारत र भियतनामबाट आयात भएको छ। भारतबाट २५ करोड २८ लाख रुपैयाँ तथा भियतनामबाट २१ करोड २७ लाख रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको छ। यस्तै, तीन महिनामा ७ लाख ३३ हजार ५९८ किलोग्राम किसमिस आयात भएको छ। यसको मूल्य २७ करोड ६३ लाख ४९ हजार रुपैयाँ रहेको छ। किसमिस आयातबाट राज्यले ६ करोड ७१ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। किसमिसको मुख्य स्रोत चीन रहेको छ। चीनबाट १९ करोड ९१ लाख रुपैयाँ र भारतबाट ७ करोड ७० लाख रुपैयाँ बराबरको किसमिस आयात भएको छ।
तीन महिनामै गत वर्षको आधाभन्दा बढी आयात
गत आर्थिक वर्ष २०८२।८३ भर नेपालले ४ अर्ब ४४ करोड ६६ लाख ७७ हजार रुपैयाँ बराबरका सुक्खा फलफूल तथा नरिवल आयात गरेको थियो। गत वर्ष कुल ३ करोड ६८ लाख ४८ हजार ४४५ किलोग्राम यस्ता वस्तु आयात भएको थियो। त्यसबाट सरकारले ९२ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामै गत वर्षभरको कुल आयात मूल्यको ५० प्रतिशतभन्दा बढी रकम बराबरको भाइ मसला तथा सुक्खा फलफूल आयात भइसकेको छ। गत आर्थिक वर्ष रकमका आधारमा किसमिस आयात सबैभन्दा धेरै थियो। वर्षभर ३३ लाख १० हजार ३३ किलोग्राम किसमिस आयात गर्दा १ अर्ब २२ करोड ९९ लाख ५९ हजार रुपैयाँ बाहिरिएको थियो। त्यस्तै, बदाम आयातमा ९० करोड १७ लाख रुपैयाँ, काजुमा ८७ करोड ७० लाख रुपैयाँ र नरिवलमा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खर्च भएको थियो। नेपालमा उत्पादन न्यून हुँदा तिहार र छठजस्ता चाडपर्वमा भाइ मसला तथा ड्राइफ्रुट्सको माग धान्न चीन, अमेरिका, भारत र भियतनामलगायत मुलुकबाट ठूलो परिमाणमा आयात गर्नुपर्ने अवस्था कायम छ। चाडपर्वसँगै माग बढ्दा बर्सेनि अर्बौं रुपैयाँ सुक्खा फलफूल आयातमै विदेशिने गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *