नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न सक्दैन : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने बताएका छन् । समाजलाई एकताबद्ध र गतिशील बनाउन नकारात्मकताभन्दा सकारात्मक सोच, प्रेम, सद्भाव र आपसी विश्वासको मात्रा बढाउनुपर्ने उनको भनाइ छ । नेपाल संवत् ११४७ को अवसरमा शनिबार नागबहाल टोल सुधार समितिले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले समाजलाई आफ्नो जरा, टोल, समुदाय, चाडपर्व र सामाजिक सम्बन्धसँग पुनः जोड्नुपर्ने बताए । उनले नेपाली समाजको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिकतालाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिए । विकासका क्रममा पुराना सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण र नयाँपनको अवलम्बनलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

ललितपुरका विभिन्न स्थानमा मौलिकता र आधुनिकतालाई सँगसँगै अघि बढाइएको देख्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै थापाले भौतिक सम्पदाभन्दा समाजमा कायम प्रेम, सद्भाव, विश्वास र भाइचाराजस्ता अमूर्त सम्बन्ध बढी महत्त्वपूर्ण हुने बताए । टोल सुधार समितिजस्ता स्थानीय संस्थाले सामाजिक सम्बन्ध र सामुदायिक एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । नयाँपन भित्र्याउने नाममा कतिपय स्थानमा पुराना संरचना पूर्ण रूपमा भत्काउने र पुराना सम्पदा संरक्षण गर्ने क्रममा नयाँ विकासलाई स्थान नदिने दुवै प्रवृत्ति रहेको उल्लेख गर्दै थापाले यी पक्षबीच सन्तुलन कायम गर्नुपर्ने धारणा राखे । प्रविधि र डिजिटल संसारमा मात्र सीमित नभई मानिसबीच प्रत्यक्ष भेटघाट, आपसी संवाद र सामाजिक सम्बन्धलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । स्थानीयस्तरमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रम सामान्य देखिए पनि सामाजिक एकता र सम्बन्ध विस्तारका दृष्टिले महत्त्वपूर्ण हुने थापाले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *