मिडियामाथि नियन्त्रणको प्रयासविरुद्ध सडकमा उत्रिए युवा
काठमाडौं । मिडियामाथि नियन्त्रणको प्रयास र पत्रकारितामाथि दबाब सिर्जना गरिएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । युवाको समूहले कालो पोसाक लगाएर ब्यानरसहित प्रदर्शन गरेको हो । प्रदर्शनकारीले प्रेस, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको संरक्षण गर्न माग गरे । प्रदर्शनमा सहभागी पुष्कर बास्तोलाले सरकारले पत्रकारितामाथि प्रहार गर्दै नागरिकको बोल्न पाउने स्वतन्त्रता खोस्ने प्रयास गरेको आरोप लगाए ।
उनले सरकारको कार्यशैली निरंकुशतातर्फ उन्मुख भएको भन्दै त्यसविरुद्ध निरन्तर खबरदारी गरिरहेको उल्लेख गरे । उनले लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका निम्ति धेरै पुस्ताले गरेको संघर्ष, त्याग र बलिदानीबाट प्राप्त अधिकारको संरक्षण गर्न सबैले आवाज उठाउनुपर्ने बताए । प्रदर्शनकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको नियन्त्रण स्वीकार्य नहुने भन्दै सरकारलाई सचेत गराएका छन् ।

















