नेपाल राष्ट्र बैंकमा ६१ जनाका लागि रोजगारी खुल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत दरखास्त आह्वान गरेको छ । बैंकले सहायक निर्देशक र सहायक पदमा कर्मचारी माग गरेको हो । राष्ट्र बैंकका अनुसार सहायक निर्देशक (खुला तथा समावेशी) पदमा २६ जना, सहायक निर्देशक (लेखा तथा लेखापरीक्षण) पदमा ३ जना, सहायक निर्देशक (वाणिज्य कानुन) पदमा २ जना र सहायक निर्देशक (सूचना प्रविधि) पदमा ४ जना माग गरिएको छ । त्यस्तै, सहायक द्वितीय श्रेणीअन्तर्गत प्रशासन सेवामा २६ जना कर्मचारी माग गरिएको छ । यससँगै बैंकले विभिन्न सेवा तथा समूहमा गरी कुल ६१ जना कर्मचारी भर्ना गर्न लागेको हो । इच्छुक तथा योग्य उम्मेदवारले मंसिर १७ गतेसम्म नियमित दस्तुरमा र मंसिर २४ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

विज्ञापनमा महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रका उम्मेदवारका लागि समावेशी समूहअन्तर्गत समेत पद छुट्याइएको छ । आवेदन दिन इच्छुक उम्मेदवारले बैंकको अनलाइनमा गई सम्बन्धित पदको विज्ञापन, आवश्यक शैक्षिक योग्यता, उमेरको हद, आवेदन शुल्क तथा छनोट प्रक्रियासम्बन्धी विवरण अध्ययन गर्न सक्नेछन् । दरखास्त पेस गर्दा नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र, आवश्यक समकक्षताको प्रमाणपत्र तथा हालसालै खिचिएको राहदानी आकारको तस्बिरको विद्युतीय प्रति अपलोड गर्नुपर्नेछ । सहायक पदमा आवेदन दिने उम्मेदवारले लोक सेवा आयोगबाट सञ्चालित एकीकृत परीक्षा प्रणालीअन्तर्गतको पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ । तोकिएको म्यादभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न बैंकले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *