सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

काठमाडौं । सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को ८८औँ कार्यकारी समितिको बैठकले चन्द्रप्रसाद ढकाललाई उक्त जिम्मेवारी दिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका ढकाल व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष हुन् । उनी चन्द्रागिरि हिल्सलगायत नेपालका सातै प्रदेशमा पर्यटन पूर्वाधार विकास तथा स्वदेशी ‘इला’ होटल चेन ब्रान्डका प्रवर्द्धक र लगानीकर्ताका रूपमा परिचित छन् । संयोजकमा चयन भएसँगै ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेकाले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए । सर्वोच्च शिखर सगरमाथाको हिमशृङ्खलादेखि हिन्द महासागरका टापु, विशाल समुद्री तट, जङ्गल, मरुभूमि तथा समृद्ध धार्मिक र ऐतिहासिक सम्पदाले यहाँ पर्यटनको अपार सम्भावना बोकेको उनको भनाइ छ ।

विश्वको करिब एक चौथाइ जनसङ्ख्या बसोबास गर्ने दक्षिण एसिया आफैँमा विशाल आन्तरिक पर्यटन बजार रहेको उल्लेख गर्दै ढकालले यो सम्भावनालाई यथार्थमा बदल्न समग्र सार्क क्षेत्रमै पर्यटन पूर्वाधारको स्तरोन्नति र लगानी विस्तार अपरिहार्य रहेको बताए । यस क्षेत्रका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डहरूलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । ‘अन्तरदेशीय लगानी विस्तारले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानलाई समेत टेवा पुर्‍याउँछ,’ ढकालले भने, ‘नेपालकै सन्दर्भमा पनि सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल चेनहरूलाई यहाँको पर्यटन पूर्वाधारमा आकर्षित गर्दै नेपाली आतिथ्य क्षेत्रको अनुभवलाई क्षेत्रीय स्तरमा जोड्न सकिन्छ ।’ क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ भन्ने भावनासहित अन्तरक्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले औँल्याए ।

विभिन्न देशका गन्तव्य समेटेर साझा पर्यटन सर्किट र प्याकेज निर्माण गरी धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनमा आपसी आदानप्रदान बढाउन सकिने धारणा उनले राखे । पर्यटन विकासको मुख्य आधार सहज सम्पर्क सञ्जाल (कनेक्टिभिटी) रहेको उल्लेख गर्दै ढकालले सार्क राष्ट्रका प्रमुख सहरहरूबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार भए पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमनमा तीव्रता आउने बताए । नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई सार्कका प्रमुख गन्तव्यहरूसँग सीधा हवाई सम्पर्कमा जोड्न सके क्षेत्रीय पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । यी लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य अनिवार्य रहेको उनको भनाइ छ । नीतिगत समन्वय र व्यावसायिक साझेदारीका लागि सार्क चेम्बरजस्ता क्षेत्रीय मञ्चहरूले पुलको काम गर्न सक्ने उल्लेख गर्दै ढकालले समग्र दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *