काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दक्षिण एसियाली स्तरको प्रतिष्ठित ‘साफा अवार्ड’ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी बनेको छ । कम्पनीले वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनको क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय सम्मान हासिल गरेको हो । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले प्रदान गर्ने ‘सर्टिफिकेट अफ मेरिट’ नेपाल लाइफले प्राप्त गरेको हो । साफाद्वारा आयोजित ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२५’ अन्तर्गत जीवन बीमा विधामा कम्पनीले उक्त सम्मान हासिल गरेको हो । बंगलादेशको राजधानी ढाकास्थित रेडिसन ब्लु वाटर गार्डेनमा मंसिर १२ गते आयोजित पुरस्कार वितरण समारोहमा नेपाल लाइफलाई सम्मान प्रदान गरिएको थियो । उक्त सम्मान ग्रहण गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुली र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मी सहभागी भएका थिए ।
नेपाल लाइफले यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०२५ अन्तर्गत ‘गोल्ड अवार्ड’ प्राप्त गरेको थियो । आइक्यानको सिफारिस तथा कम्पनीको वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा नेपाल लाइफले दक्षिण एसियाली स्तरको यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएको हो । साफाले दक्षिण एसियाली मुलुकका विभिन्न संस्थाको वार्षिक प्रतिवेदनको मूल्याङ्कन गरी उत्कृष्ट संस्थालाई यस्तो सम्मान प्रदान गर्दै आएको छ । मूल्याङ्कनका क्रममा वित्तीय सूचनाको गुणस्तर, विश्वसनीयता, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना लगायतका पक्षलाई आधार बनाइन्छ । कम्पनीका सीईओ पराजुलीले यो सम्मान नेपाल लाइफको मात्र नभई समग्र नेपाली जीवन बीमा क्षेत्रकै लागि गौरवको विषय भएको बताए । उनले पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत सुशासनप्रतिको निरन्तर प्रतिबद्धताको प्रतिफलका रूपमा यस उपलब्धिलाई लिएको बताए ।