गरिमा विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा सम्मानित

काठमाडौं । वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता र संस्थागत सुशासनमा उत्कृष्टता हासिल गरेको भन्दै गरिमा विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरमा सम्मानित भएको छ । दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (साफा) ले प्रदान गर्ने सन् २०२५ को उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कारअन्तर्गत बैंकले वित्तीय सेवा क्षेत्र विधामा ‘प्रशंसापत्र’ प्राप्त गरेको हो । सन् २०२६ नोभेम्बर २८ मा बङ्गलादेशको राजधानी ढाकामा आयोजित समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । बङ्गलादेशका चार्टर्ड एकाउन्टेन्टहरूको संस्था (आईसीएबी) को आतिथ्यतामा समारोह आयोजना गरिएको थियो । साफा दक्षिण एसियाली मुलुकका व्यावसायिक लेखा संस्थाहरूको साझा महासंघ हो ।

यसले वित्तीय प्रतिवेदनको गुणस्तर सुधार, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा व्यावसायिक उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न विधामा उत्कृष्ट संस्थालाई सम्मान गर्दै आएको छ । बैंकले यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आयोजना गरेको सन् २०२५ को उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कारअन्तर्गत वित्तीय सेवा क्षेत्रमै रजत पुरस्कार प्राप्त गरेको थियो । राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गरेको बैंकले अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मान पाउनुलाई वित्तीय प्रतिवेदनको गुणस्तर र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको उपलब्धिका रूपमा लिइएको छ । हालै स्थापनाको २०औं वार्षिकोत्सव मनाएको गरिमा विकास बैंकले गुणस्तरीय बैंकिङ सेवा, आधुनिक प्रविधिको प्रयोग, ग्राहक सन्तुष्टि र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *