नेशनल लाइफको गण्डकी प्रदेशस्तरीय सीईओ क्लब सम्मान कार्यक्रम पोखरामा सम्पन्न

पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशका सीईओ क्लबमा छनोट हुन सफल अभिकर्ताहरूको सम्मानमा आयोजना गरेको प्रदेशस्तरीय सीईओ क्लब सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १२ गते पोखरास्थित होटल पोखरा ग्राण्डमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका करिब १५० जना अभिकर्ताको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपकार्यकारी प्रमुख स्मृतीराज कँडेल, प्रमुख प्रबन्धक सुस्मिता राणा, गण्डकी प्रदेश प्रमुख, प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरू तथा उत्कृष्ट अभिकर्ताहरूको उपस्थिति रहेको थियो । सुशील प्रताप राणाले सञ्चालन गरेको कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपकार्यकारी प्रमुख स्मृतीराज कँडेलले अभिकर्ताहरूको मिहिनेत, लगनशीलता र निरन्तर योगदानको प्रशंसा गरे । उनले सीईओ क्लबमा छनोट हुनु अभिकर्ताहरूको व्यावसायिक उत्कृष्टता र समर्पणको महत्वपूर्ण उपलब्धि भएको बताए । समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लबमा छनोट भएका सम्पूर्ण अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण तथा सम्मान गरे । त्यसैगरी, नेशनल रत्न र नेशनल स्टार विधामा छनोट हुन सफल अभिकर्ताहरूलाई सम्मानपत्र र चाँदीको मेडल प्रदान गरी विशेष सम्मान गरिएको थियो । सोही अवसरमा व्यक्तिगत कोड तथा अभिकर्ता सञ्जालमार्फत गण्डकी प्रदेशबाट उत्कृष्ट तीन स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई समेत सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले जीवन बीमा अभिकर्ताको भूमिका केवल बीमा पोलिसी बिक्रीमा मात्र सीमित नरहेको स्पष्ट पारे । उनले आम नागरिक तथा परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने, बीमाप्रति जनचेतना अभिवृद्धि गर्ने र आर्थिक सुरक्षाको बलियो आधार निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी अभिकर्ताहरूको काँधमा रहेको बताए । साथै, सीईओ क्लबमा स्थान बनाउन सफल अभिकर्ताहरूले आगामी दिनमा अझ उच्च व्यावसायिक लक्ष्य निर्धारण गर्दै ‘चेयरपर्सन क्लब’ तथा अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित अभिकर्ता उपलब्धि ‘एमडीआरटी’ ९मिलियन डलर राउन्ड टेबल० हासिल गर्ने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिए । सम्मान समारोहसँगै अभिकर्ताहरूको व्यावसायिक दक्षता, क्षमता तथा कार्यसम्पादन अभिवृद्धि गर्ने उद्देश्यले विशेष उत्प्रेरणात्मक तथा व्यावसायिक तालिमसमेत सञ्चालन गरिएको थियो । अभिकर्ताहरूलाई उच्च लक्ष्य हासिल गर्न प्रेरित गर्ने उद्देश्यले आयोजित उक्त तालिममा प्रशिक्षक डा। रविन कटुवालले प्रशिक्षण दिएका थिए । कार्यक्रमको समापनमा कम्पनीकी प्रमुख प्रबन्धक सुस्मिता राणाले कार्यक्रम सफल बनाउन सहयोग पुऱ्याउने सम्पूर्ण अतिथि, अभिकर्ता, कर्मचारी तथा प्रशिक्षकप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरिन् । अभिकर्ताहरूको मिहिनेत र उपलब्धिको सम्मान गर्दै उनीहरूको क्षमता विकास, व्यावसायिक उन्नति तथा संस्थागत लक्ष्य प्राप्तिमा निरन्तर जोड दिँदै आएको कम्पनीले यस कार्यक्रमबाट अभिकर्ताहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र उच्च लक्ष्य प्राप्तिको संकल्प अभिवृद्धि भई जीवन बीमाको पहुँच विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *