आइएमई लाइफ इन्स्योरेन्स दक्षिण एसियाको ‘साफा मेरिट अवार्ड’बाट सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित भएको छ । दक्षिण एसियाका जीवन बीमा कम्पनीहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेवापत कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो । बंगलादेशको ढाकामा शनिबार आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) जगतबहादुर बोहरा तथा जोखिम तथा अनुपालन विभाग प्रमुख त्रिलोचन रावतले संंयुक्त रूपमा अवार्ड ग्रहण गरे । कम्पनीले आर्थिक वर्ष २०८१।८२ को नवौं वार्षिक प्रतिवेदनका लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा प्रदान गरिने उक्त अवार्ड प्राप्त गरेको हो । साफाले प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाका वार्षिक प्रतिवेदन मूल्याङ्कन गरी उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने संस्थालाई सम्मान गर्दै आएको छ । वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका मापदण्ड पालना गरेको भन्दै साफाले आइएमई लाइफलाई उक्त सम्मान प्रदान गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले यो सम्मान वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनप्रति कम्पनीले राख्दै आएको प्रतिबद्धताको मान्यता भएको बताए ।

कम्पनीले वार्षिक प्रतिवेदनमार्फत आफ्नो वित्तीय अवस्था र कार्यसम्पादनका साथै व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, संस्थागत सुशासन तथा सामाजिक उत्तरदायित्वका गतिविधि पारदर्शी रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ । सरोकारवालालाई कम्पनीका गतिविधि, उपलब्धि र भावी प्राथमिकताबारे विश्वसनीय जानकारी उपलब्ध गराउने उद्देश्यले प्रतिवेदनको गुणस्तर, विश्वसनीयता र प्रस्तुतिमा निरन्तर सुधार गर्दै आएको कम्पनीको भनाइ छ । यसअघि कम्पनीले सोही वार्षिक प्रतिवेदनका आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदनतर्फ तेस्रो पुरस्कार (कांस्य अवार्ड) प्राप्त गरेको थियो । उक्त सम्मानपछि दक्षिण एसियामा पनि सम्मानित हुनुले कम्पनीको प्रतिवेदनको गुणस्तर र पारदर्शितामा अपनाउँदै आएको अभ्यासलाई थप मान्यता दिएको छ । आइएमई समूहअन्तर्गतको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सन् २०१७ देखि जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *