दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई साफा अवार्ड
काठमाडौं । वित्तीय पारदर्शिता र संस्थागत सुशासनमा उत्कृष्ट अभ्यास गरेको भन्दै नबिल बैंक दक्षिण एसियाली स्तरमा सम्मानित भएको छ । बैंकले आर्थिक वर्ष २०२४।२५ को वार्षिक प्रतिवेदनका लागि दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) को प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ प्राप्त गरेको हो । बंगलादेशमा आयोजित विशेष समारोहमा नबिल बैंकका सञ्चालक सइद मन्सुर मुस्तफाले उक्त अवार्ड ग्रहण गरे । दक्षिण एसियाका निजी क्षेत्रका बैंकमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेको आधारमा नबिल बैंकलाई यो सम्मान प्रदान गरिएको हो । साफाले प्रत्येक वर्ष दक्षिण एसियाका वित्तीय तथा व्यावसायिक संस्थाहरूको वार्षिक प्रतिवेदन मूल्याङ्कन गरी उत्कृष्ट संस्थालाई सम्मान गर्दै आएको छ । वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनका मापदण्डलाई मूल्याङ्कनको आधार बनाइन्छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले साफा मेरिट अवार्ड प्राप्त हुनु बैंकका साथै नेपालको बैंकिङ क्षेत्रकै लागि गौरवको विषय भएको बताए । यसले नेपालको बैंकिङ क्षेत्रले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको विश्वसनीयता र व्यावसायिक उत्कृष्टतालाई समेत देखाएको उनले बताए । नबिल बैंकले यसअघि आर्थिक वर्ष २०२२।२३ को वार्षिक प्रतिवेदनका लागि पनि साफा मेरिट अवार्ड प्राप्त गरेको थियो ।
यससँगै बैंकले दोस्रो पटक दक्षिण एसियाली स्तरको उक्त सम्मान प्राप्त गरेको हो । त्यस्तै, आर्थिक वर्ष २०२४।२५ कै वार्षिक प्रतिवेदनका आधारमा बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट वाणिज्य बैंकतर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डअन्तर्गत गोल्ड अवार्डसमेत प्राप्त गरेको थियो । राष्ट्रियस्तरमा सम्मानित भएको बैंकको वार्षिक प्रतिवेदनले दक्षिण एसियाली स्तरमा समेत मान्यता पाएको हो । बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा वित्तीय अवस्था र व्यावसायिक कार्यसम्पादनका अतिरिक्त व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, दिगोपना तथा सामाजिक उत्तरदायित्वका गतिविधि समेट्दै आएको जनाएको छ । सरोकारवालालाई बैंकका गतिविधि, उपलब्धि र भावी प्राथमिकताबारे विश्वसनीय जानकारी उपलब्ध गराउने उद्देश्यले प्रतिवेदनको गुणस्तर र प्रस्तुतिमा निरन्तर सुधार गर्दै आएको बैंकको भनाइ छ । चार दशकभन्दा लामो बैंकिङ इतिहास रहेको नबिल बैंकले प्रविधि र ग्राहककेन्द्रित सेवालाई प्राथमिकता दिँदै आएको छ । बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा ‘एनबैंक’ मार्फत बैंकिङ कारोबारलाई सहज र पहुँचयोग्य बनाउने प्रयास गरिरहेको छ । हाल बैंकले देशभरका २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको छ । वित्तीय समावेशिता, आर्थिक अवसरको विस्तार र दिगो आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यसहित बैंकले सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ ।


















