गाउँबाटै नागरिकता पाएपछि स्थानीय उत्साहित

रामपुर (पाल्पा) । इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको सङ्ख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा तीन हजार नौ ७८ जनाले नागरिकता बनाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो । गत आवमा नागरिकता लिएकामध्ये एक हजार नौ सय ८९ पुरुष र एक हजार नौ सय ८९ महिला छन् । नियमितरुपमा कार्यालय प्रमुख बसेर सेवा दिन थालेपछि नागरिकता बनाउने बढेका हुन् ।

पहिला–पहिला हप्ताको दुई दिन जिल्ला प्रशासन कार्यालय पाल्पाबाट टोली आएर नागरिकता वितरण गर्ने गरिन्थ्यो । अहिले दैनिकरुपमा कार्यालयबाटै सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम तानसेन जानुपर्ने झण्झट हटेको छ । दैनिकजसो कम्तीमा २० देखि ५० सम्म नागरिकता वितरण गरिने कार्यालय प्रमुख भगवान भक्त अर्यालले जानकारी दिएका छन् ।

“स्थानीय तहको निर्वाचन, सङ्घ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै जानु, राष्ट्रिय परिचय पत्र वितरण लगायतले गर्दा नागरिकता बनाउन आउने बढेका छन्, गाउँमै सुविधा भएपछि उमेर पुग्ने बित्तिकै नागरिकता बनाउन आउने क्रम बढिरहेको छ”, कार्यालय प्रमुख अर्यालले भने ।

उनका अनुसार कार्यालयबाट आव २०७८/७९ मा दुई जनालाई अंगिकृत नागरिकता वितरण गरिएको छ भने नागरिकता प्रतिलिपि एक हजार नौ सय ९६ लाई प्रदान गरिएको छ । आठ सय ७५ पुरुष र एक हजार एक सय २१ महिलाले नागरिकताको प्रतिलिपि लिएका छन् । नाबालक परिचय पत्र २५, राहदानी दु्रत सेवा सिफारिस १४०, आदिवासी जनजाति प्रमाणित २८९, दलित प्रमाणित ६३, मुस्लिम प्रमाणित एक, संस्था नवीकरण ३५ र २७ जनाले नामथर प्रमाणित गराएका छन् ।

पहिला सदरमुकाम तानसेन जाने समस्याले उमेर पुगे पनि अति आवश्यक परिस्थिति नहुँदासम्म नागरिकता बनाउने कार्यमा नागरिकले चासो दिइएको पाइँदैनथ्यो । तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयले सेवा दिन थालेपछि पूर्वी पाल्पाका नागरिकलाई ठूलो राहत मिलेको छ ।

सामान्य कामका लागि सदरमुकाम नै धाउनुपर्दा निकै सास्ती खेप्नुपर्ने तथा भनेको समयमा काम नबन्दा बास नै बस्नुपर्ने अवस्था खेपेका नागरिकले गाउँबाटै सेवा पाउँदा राहतको अनुभूति भएको सेवाग्राही ओमप्रकाश बस्याल बताए । “बेला बेलामा कार्यालय प्रमुखविहीन, बाहिरका कार्यालय प्रमुख हुदा काम विशेष र विदाका समय अन्यत्र जाने, घर बिदाजस्ता समस्याले कार्यालयमा प्रमुख नहुँदा तानसेन नै जानुपथ्र्यो, अहिले स्थानीय कार्यालय प्रमुख भएकाले नियमितरुपमा कार्यालयमा आउने बित्तिकै सेवा पाइएको छ”, उनले भने ।

कार्यालयमा आएको केही समयमा नै छिटो र प्रभावकारी सेवा पाउँदा चुरामणि ठाडा दङ्ग छन् । यसभन्दा अघि नागरिकता बनाउन, विभिन्न कामका लागि तानसेन गएर सेवा लिन चार÷पाँच घण्टाको बाटो गाडीमा यात्रा, बासै बसेर काम सकाएर फर्कदा धेरै खर्चिलो र झमेला बेहोर्नु परेको स्मरण गर्दै अहिले सबै सेवा सुविधा गाउँमै पाएको उनले बताए ।

पहाडको बाटो पानी पर्दा हिलाम्य सडक, ठाउँ ठाउँमा पहिरो खस्ने, सवारी साधन कमै मात्रामा तानसेन रामपुरका लागि गुड्थे । तानसेनमा होटलमा बास नबसी भरसक काम सकाएर एकै दिनमा फर्कन अप्ठ्यारो हुन्थ्यो । सडक व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम मोल्दै विभिन्न समस्या र बाध्यतालाई थिचोल्दै जानुपर्ने समस्या सदाका लागि पूर्वी पाल्पावासीलाई अन्त्य भएको स्थानीयवासी मोहनप्रसाद भट्टराई बताए ।

नागरिकता बनाउन सदरमुकाम आउन जानको झण्झटले पहिले आवश्यकता परेका समय मात्रै नागरिकता बनाउने गरेको पाइन्थ्यो भने अहिले गाउँबाटै सेवा पाइने भएपछि उमेर पुगेलगत्तै नेपाली नागरिकता बनाउने क्रम बढेको छ । आव २०७७÷७८ मा वंशजको आधारमा नागरिकता लिने एक हजार ७६०, प्रतिलिपि नागरिकता ३३९, नाबालक परिचय पत्र २१, राहदानी दु्रत सेवा ७५, आदिवासी जनजाति प्रमाणित २३९, दलित प्रमाणित २५, नामथर प्रमाणित १६, संस्था नवीकरण ४३ र सैनिक बोर्डलाई अभिलेख पठाएको (भर्ती प्रयोजनार्थ) २९ रहेको कार्यालयले जनाएको छ ।

आव २०७६÷७७ मा वंशजको आधारमा नागरिकता लिने एक हजार ३७९, प्रतिलिपी नागरिकता ३७५, नाबालक परिचय पत्र २२, राहदानी दु्रत सेवा १९१, आदिवासी जनजाती प्रमाणित १०५, दलित प्रमाणित २३, नामथर प्रमाणित नौ, संस्था नविकरण ३८ तथा सैनिक बोर्डलाई अभिलेख पठाएको (भर्ती प्रयोजनार्थ) २१ रहेको कार्यालयले जनाएको छ ।

कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिका–१ देखि ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका स्थानीयवासीले सेवा लिँदै आएका छन् । पूर्वी पाल्पाका स्थानीयलाई सेवा दिने उद्देश्यले २०६३ असार १० गते तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालयको उद्घाटन गरी सेवा दिन थालेपछि नागरिकलाई धेरै सहज भएको छ ।

शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सह–लेखापाल एक, कार्यालय सहयोगी दुई जना कर्मचारीको दरबन्दी तोकिएको छ । हाल यस कार्यालयमा स्थायी दरबन्दीमा एक कार्यालय प्रमुख, एक÷एक कम्प्युटर अपरेटर र खरिदार छन् भने करारमा एक÷एक नायब सुब्बा र खरिदार तथा दुई कार्यालय सहयोगी कार्यरत छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *