जिल्ला सभापतिहरुसँग देउवाले भने- तपाइँहरुको मागप्रति प्रतिबद्ध छु
काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेशका जिल्ला सभापतिहरूले सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कम्तीमा एकमत रुखमा हाल्नेगरी गठबन्धन गर्न माग गरेका छन् । बिहीबार बागमती प्रदेशका जिल्लाका सभापतिले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर उक्त सुझाव दिएका छन् । आठ जिल्लाका सभापतिहरूले आफूहरू गठबन्धन गरेर निर्वाचनमा जाने पार्टी पक्षमै रहेको बताएका थिए । तर, गठबन्धन गर्दा कांग्रेसका सबै मतदाताले ‘समानुपातिक’बाहेक कम्तीमा एकमत प्रत्यक्षमा रुखमा हाल्न पाउनुपर्ने उनीहरुको माग गरेका छन् ।
दोलखा कांग्रेसका सभापति बर्मा लामाले प्रत्यक्षमा कम्तीमा एकमत रुखमा हाल्न पाउनुपर्ने माग गरेका हुन् । जिल्ला सभापतिहरूले प्रतिनिधिसभाको सीट कांग्रेसले पाएका क्षेत्रमा खासै समस्या नहुने बताउँदै प्रतिनिधिसभा सीट अर्को दलको भागमा परेको क्षेत्रमा प्रदेश सभाका दुवै क्षेत्र कांग्रेसले पाउनुपर्ने माग राखेका छन् ।
जिल्ला सभापतिहरूको कुरा सुनेपछि केन्द्रीय सभापति देउवाले यस विषयमा आफू प्रतिबद्ध रहेको बताएका थिए । देउवाले यस विषयमा गठबन्धनका नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताएका थिए । बिहीबार प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग दोलखाका सभापतिहरु लामा, नुवाकोटका रमेश महत, काठमाडौंका कृष्णसुबुज बानियाँ, भक्तपुरका दुर्लभ थापा, ललितपुरका जितेन्द्रकुमार श्रेष्ठ, जंगबहादुर तामाङ, तीर्थ लामा र धादिङका रामनाथ अधिकारी सहभागी थिए ।