नेपाल राष्ट्र बैंकले अनलाइन जुवा नखेल्न निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन जुवा नखेल्न निर्देशन दिएको छ । विश्वकप फुटबल सुरु भएपछि विद्युतीय भुक्तानीमा शंकास्पद कारोबारहरु देखिन थालेपछि राष्ट्र बैंकले सूचना नै जारी गरेर अनलाइन जुवा तथा बेटिङ कार्यमा सहभागी नहुन अनुरोध गरेको हो ।विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति,समुह,संस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ। राष्ट्र बैंकले अनलाइन जुवाहरुको भुक्तानी नहुने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्था, मोबाइल बैंकिङ सेवा प्रदायक, मोबाइल वालेटहरुलाई पनि निर्देशन दिएको हो । विश्वकप फुटवल लक्षित अनलाइन जुवा तथा बेटिङ सञ्चालन गर्ने क्रम बढेपछि राष्ट्र बैंकले नियमनको प्रक्रिया थालेको हो । ‘जुवा तथा बाजीजन्य कार्यहरु गैर कानूनी हुन्, यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ, विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति समूह र संस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ, राष्ट्र बैंकको सूचनामा उल्लेख छ । जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले इजाजत र अनुमतिपत्रप्राप्त संस्थाहरुलाई निर्देशन दिएको छ । कसैले विद्युतीय भुक्तानीका माध्यमवाट जुवा तथा बाजीजन्य कार्य गरेको थाहा भएमा जानकारी गराउन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।
















