गगन थापाको समर्थकले समाते दुई प्रहरी,संस्थापन पक्षले निगरानी गराएको आरोप


काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलको चुनावको पूर्वसन्ध्यामा कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार गगन थापाको निगरानीमा प्रहरी परिचालित गराइएको आरोप लागेको छ । कांग्रेस महामन्त्री समेत रहेका थापा बैठकका लागि गएको लाजिम्पाटस्थित एक होटलमा राति निरन्तर निगरानी गरिरहेको शंका लागेपछि समर्थकले दुई जना व्यक्तिलाई घेरेका थिए । त्यसक्रममा दुवै जनाको साथमा नेपाल प्रहरीको परिचय पत्र भेटिएको थापाका समर्थकहरुले बताएका छन् ।तीमध्ये एक जनाको साथमा नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाको परिचय पत्र भेटिएको थापाका सहयोगी सबिन मुडभरीले बताए । तीमध्ये एकजना जवान र अर्का प्रहरी नायब निरीक्षक भएको खुलेको छ । दुई जनालाई घेरा हालेपछि अन्य केही व्यक्तिहरु भागेको उनले बताए । ‘अपराह्न गगन दाइको गाडीमा पनि एउटै नम्बरको मोटरसाइकलले फलो गरिरहेको थियो त्यसबेला गाडी रोकेपछि उनीहरु अलमलिए झैँ गरेका थिए । राति थापा रहेको होटल वरिपरि प्रहरी जस्ता देखिने व्यक्तिको चहलपहल बढेपछि आफूहरुले पनि निगरानी गरेको उनले बताए । नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले घटनाबारे आफूहरुलाई केही थाहा नभएको बताए । ‘प्रहरीले संस्थागत रुपमा सुरक्षा दिने काम मात्रै गर्छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) राईले भने, ‘व्यक्तिगत गोपनियताको सवालमा अदालतको आदेशविना केही गर्दैन । यदि घटना साँचो भए त्यो पक्राउ पर्ने व्यक्तिकै जिम्मेवारी हुने र संस्थागत प्रतिनिधित्व नगर्ने समेत उनले बताए । दोषी देखिए कानून बमोजिम कारबाही पनि हुनसक्छ । कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव हुँदैछ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *