सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक


काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले पुस २२ गते शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गरिने बताए । चुनावमा ८९ सिट जित्दा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको कांग्रेस दलहरुबीच सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य बनेको छ । बैठकमा यी सहित समसामयिक राजनीतिक विषयहरुमा समेत छलफल हुने मुख्यसचिव पौडेलले बताए । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद अरुलाई नदिने अडान लिएपछि माओवादी केन्द्रले एमालेसहितका दलहरूसँग मिलेर गठबन्धन सरकार बनाएको छ । त्यस्तै ७ वटा प्रदेशसमा समेत नयाँ गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखिएको छ । कांग्रेस नेतृत्वले सुझबुझपूर्ण निर्णय नगर्दा संघ र प्रदेशमा प्रतिपक्षमा बस्न परेको भन्दै केही नेताले विशेष महाधिवेशनसमेत माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *