सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई १० वर्षको जेल सजाय
बीबीसी न्युज
इरान । उमेरले २० वर्षभन्दामाथि रहेका एक इरानी जोडीले उनीहरू सडकमा नाचेको भिडिओ सार्वजनिक गरेका थिए । सडकमा नाचेको भिडिओ सार्वजनिक गरेको कारण उनिहरुलाई इरानी सरकारले १० वर्षको जेल सजाय सुनाइएको छ ।
उनीहरूमाथि भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लागेको छ । सार्वजनिक भिडिओ भने इरानको तेहरानस्थित आजादी (फ्रीडम) टावर अगाडिको रहेको देखिन्छ ।
अभद्र व्यवहार देखाउने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको महिलाको मृत्यु भएको थियो । उक्त महिलाको मृत्यु भएपछि मानिसहरू विरोध प्रदर्शनमा उत्रिएका थिए । विरोध प्रदर्शनमा उत्रिएका मानिसहरूलाई सरकारी अधिकारीहरूले कडा सजाय दिइरहेका छन् ।
तर उक्त जोडीले आफ्नो नृत्यलाई इरानमा जारी विरोध प्रदर्शनसँग सम्बन्धित रहेको बताएका थिएनन् । एक स्रोतले बीबीसी मोनिटरिङलाई पुष्टि गरे अनुसार दुई जनाको जोड्दा झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत भिडिओ साझा गरेपछि उनीहरू गिरफ्तारीमा परेका थिए ।
मृत्युको घटनाले छेडेको विरोध प्रदर्शन
गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सरकार विरोधी प्रदर्शन देशभरि फैलियो जसलाई इरानी शासकले दङ्गाको सङ्ज्ञा दिएको थियो । महिलाहरूले हिजाब वा कपडाले कपाल ढाक्नुपर्ने नियम उल्लङ्घन गरेको आरोपमा उनलाई तेहरानमा पक्राउ गरिएको थियो ।

२१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा देहव्यापारलाई बढवा दिएको, राष्ट्रिय सुरक्षाविरुद्धमा योजना बनाएको र स्थापित मान्यताविरुद्ध प्रचार गरेको अभियोगमा दोषी ठहर गरिएको बताइएको छ।
गिरफ्तारीअघि पेसाले आफूलाई फ्यासन डिजाइनर बताउने हकीकीको पारिवारिक घरमा छापा मारिएको थियो । उनीहरूलाई दोषी ठानिएको फरकफरक अभियोगका लागि दुवैले कति(कति वर्ष सजाय भोग्नु पर्छ भन्ने कुरा स्पष्ट छैन । उनीहरूलाई सबै अभियोगका लागि संयुक्त रूपमा कुल साढे १० वर्षको सजाय सुनाइएको हो ।
फैसला कायमै रहे हालसम्म घोषणा गरिएकामध्ये सबैभन्दा लामो अवधिको सजाय भोग्नेमा उनीहरू पर्ने भएका छन् । विवरणहरूका अनुसार उनीहरू सामाजिक सञ्जाल चलाउन र दुई वर्षसम्म देश छाड्न समेत प्रतिबन्धित छन् ।
राज्यका लागि ठूलो चुनौती
गत सेप्टेम्बरयता इरानमा जारी विरोध प्रदर्शनलाई सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानी शासन सत्तामा आए यताकै गम्भीर चुनौतीको रूपमा हेरिएको छ ।
आन्दोलनलाई दबाउन राज्यले गत डिसेम्बरदेखि यस महिनाको सुरुवातसम्ममा कम्तीमा चार जना प्रदर्शनकारीलाई मृत्युदण्डसहित कडा सजाय दिइसकेको छ । महसा अमिनीको मृत्युपश्चात् इरानमा परिस्थिति व्यापक रूपमा अस्थिर बनेको छ । लामो समयदेखि कायम गरिबी, बेरोजगारी, असमानता, अन्याय र भ्रष्टाचारबारे पनि मानिसहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
उनको मृत्युलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा सयौँ मानिस मारिएका छन् र हजारौँ पक्राउ परेका छन् ।
















