रास्वपाभित्रै रविविरोधी नेता बढ्दै, गणेश कार्कीपछि अरनिको पाण्डे

काठमाडौं । स्थापनाको आठ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेविरोधीको संख्या बढ्न थालेको छ । रविको आफूलाई केन्द्रमा राख्ने, कसैको कुरा नसुन्ने प्रवृत्तिकै कारण रास्वपामा असन्तुष्टि बढ्दै गएको छ ।

खासगरी सरकारमा जाने र फिर्ता हुने विषयले रास्वपामा दुई धार देखिएको छ । आफूलाई अरुभन्दा फरक दल देखाउन स्थापना भएको रास्वपामा अहिले रविको विपक्षमा नेताहरू देखिन थाले पनि गुट कसैले बनाएका भने छैनन् । तर, यही ढंगले रवि चलेमा सो पार्टी एक वर्षभित्रै विभाजन हुने गम्भीर खतरा रहेको विश्लेषण गर्न थालिएको छ ।

निर्वाचनमा जनताले चौथो ठूलो शक्ति बनाए पनि रास्वपालाई सरकारमा जाने म्यान्डेट भने दिएको थिएन । तर गठबन्धन नगरी सरकार नबन्ने भएकाले रास्वपा पनि सरकारमा सहभागी भयो । पार्टी सरकारमा जाने विषयमा केन्द्रीय सदस्य गणेश कार्कीलगायतले असन्तुष्टि जनाएका थिए । तर उनको सल्लाह र सुझावको कुनै अर्थ रहेन । रवि लामिछानेले भनेपछि सकियो ।

नागरिकता प्रकरणमा रवि लामिछानेको सरकारमा गएको ३२ दिनमै सांसद पद गुम्यो । त्यसपछिको एक सातासम्म रविले आफूलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहे । तर प्रधानमन्त्री तयार नभएपछि रास्वपा सरकारबाट बाहिरियो । रास्वपा सरकारबाट बाहिरिन नहुने पक्षमा डिपी अर्याल, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, तोसिमा कार्कीलगायत थिए । तर रविले निर्णय गरेपछि सकियो ।

पार्टी सरकारबाट बाहिरिने निर्णय सुनाउन रवि लामिछानेले विशेष पत्रकार सम्मेलन आयोजना गरे । सम्मेलनमा केही केन्द्रीय सदस्यबाहेक अरु सांसद मात्र थिए । रविले डेढ घन्टा समय खर्चे । उनले मिडिया र पत्रकारको उछितो काढे । जसकारण अहिले रास्वपाका अन्य नेतालाई मिडियासामुख अनुहार देखाउन नसक्ने अवस्था सिर्जना भएको छ । रविकै अभिव्यक्तिलाई लिएर अहिले पार्टीमा उनका विरोधी बढ्न थालेका छन् ।

केन्द्रीय सदस्य अरनिको पाँडेले त लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिको जिम्मा आफू लिन तयार नभएको बताएका छन् । बुधबार ट्विटमार्फत उनले सभापतिले पत्रकार सम्मेलनमा बोलेका कुराहरुको जिम्मा आफू लिन तयार नभएको बताएका हुन्। उनले भनेका लेखेका छन्, ‘हो, म राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार गरेका निर्णयको स्वामित्व लिन्छु । हामीले व्यापक छलफल गरेका थियौं । म पत्रकार सम्मेलनको तयारीमा सहभागी थिइनँ। जे भनियो, जुन शैलीमा भनियो र जे कुरा भन्न छुटाइयो त्यसको म जिम्मा लिन्नँ।’

केन्द्रीय सदस्य गणेश कार्कीले त फेसबुक र मिडियामै पार्टीले गरेका निर्णयको विरोध गर्दै आएका छन् । उनले सरकारमा किन गएको र किन फिर्ता भएको भन्ने जवाफ दिन नसकेको भन्दै सभापति रविको आलोचना गरेका छन् । पछिल्लो समय रास्वपामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सभापति रवि इतरका नेताहरूले छुट्टै छलफल थालेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *