ट्राफिकले बढाएको सवारी जरिवाना फिर्ता, कानुनबमोजिम नै जरिवाना कायम रहने

काठमाडौं । ट्राफिक नियम पालनामा कडाइ गर्न ट्राफिक प्रहरीले बढाएको जरिवानामा पुरानै नियम लागू हुने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको थियो । तर उक्त निर्णय नियमविपरित भएको भन्दै जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरु आन्दोलित भएपछि सरकार जरिवाना नबढाउने निर्णय गरेको हो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षमा बसेको सरोकारवालबीचको बैठकले ट्राफिक प्रहरीले लागु गरेको नयाँ जरिवाना कानुनबमोजिम नभएकाले अब कानुन बमोजिम नै पुरानै जरिवाना कायम हुने भएको छ । तत्काल जारी गरेको नयाँ नियम लागू नहुने भ्एपछि ट्राफिक प्रहरीले सफ्टवेयरमा परिवर्तन समेत गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार सवारी नियम उल्लंघन गर्दा कानुनअनुसरकै जरिवाना सहमति भएको हो । ३ पुसदेखी अहिलेसम्म ट्राफिक प्रहरीले १६ प्रकारका सवारी नियम उल्लंघनमा पहिलोपटकमै १५ सय रुपैयाँ जरिवाना लिन थालेको थियो ।

सफ्टवेयरमा पनि परिवर्तन भइसकेकाले ‘कानुनबमोजिम नै त सवारी जरिवाना हुने व्यवस्था गरिएको गौतमले बताए । ऐनको दफा १६४ अनुसार नियम मिच्नेलाई तत्कालै यातायात निरीक्षक र ट्राफिकको प्रहरी सहायक निरीक्षकले पहिलोपटकमा ५ सय, दोस्रो पटकमा एक हजार र तेस्रो पटक वा सो भन्दा बढी पटक सवारी नियम उल्लंघन गर्नेलाई एक हजार ५ सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

जरिवानाको दर कार्यान्वयन हुने गरी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *