आफ्नो अडानबाट टसमस भएनन् प्रचण्ड र ओली, अब फागुन १३ गतेकै पर्खाइ

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच बुधबार झन्डै दुई घन्टा छलफल भएको हो । दुवै नेता आ–आफ्नै अडानमा रहेकाले छलफल विनानिष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सौहार्दपूर्ण रुपमा छलफल भए पनि के विषयमा अडान कायम नै रह्यो भन्ने बाहिर आइसकेको छैन । प्रधानमन्त्री प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले भने राष्ट्रपतिका विषयमा छलफल भएको बताएका छन् ।

पुस १० गतेको पूर्वसहमतिअनुरूप राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन ओलीले दबाब दिँदै आएका छन् । तर प्रचण्डले भने एमालेलाई राष्ट्रपति दिन नसकिने अडान राखेका छन् । माओवादी केन्द्रले औपचारिक रूपमै ‘राष्ट्रपति र गृह मन्त्रालय’ लाई बटमलाइन बनाएको छ । माओवादी पदाधिकारी बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार दिइसकेको छ ।

एमालेले अहिलेसम्म औपचारिक रूपमा कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने छलफलसमेत चलाएको छैन । ओलीले आफ्नो तजबिजीमा प्रचण्डलाई रोक्न अनेक पात्र चर्चामा ल्याएका छन् ।

स्रोतका अनुसार ओलीले राष्ट्रपतिका दुईवटा उम्मेदवार अहिले खडा गरेका छन् । माओवादीले सहयोग गरेमा एउटा र सहयोग नगरेमा अर्को गरी ओलीले दुई उम्मेदवार तयार पारेका छन् । यदि माओवादीले साथ दिएमा जित्ने पात्र एमालेबाटै सार्वजनिक गरिनेछ भने माओवादीले साथ नदिए पराजित हुन कुनै दलका नेतालाई खडा गर्ने मनस्थितिमा ओली रहेको नेताहरू बताउँछन् ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आज पनि राष्ट्रपतिको उम्मेदवारको विषयमा कुनै सहमति नभएकाले अब फागुन १३ गते नै को को उम्मेदवार हुनेछन् भन्ने टुंगो लाग्ने भएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसले पनि आफ्नो उम्मेदवार उठाउने तयारी गरेको छ । कांग्रेसले बिहीबार कार्यसम्पादन समितिको बैठक राखेर राष्ट्रपतिको उम्मेदवारको नाम टुंगो लगाउने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *