भत्कियो गठबन्धन, प्रधानमन्त्रीले फेरी विश्वासको मत लिनुपर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने भएको छ । सरकार गठन भएको दुई महिनामा गत पुस १० गते बनेको सत्ता गठबन्धन भत्किएपछि प्रधानमन्त्री प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने भएको हो ।
संविधान धारा १०० को उपधारा २ मा कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा वा उक्त दल विभाजन भएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था गरिएको छ । सो धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था गरिएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिएका थिए । प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत परेको थियो । प्रचण्डलाई संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए भने तीन स्वतन्त्र सांसदहरुले पनि विश्वासको मत दिएका थिए ।
यस अघि शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएको थियो भने आज सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।